मन्त्रालय र केन्द्रीय प्याब्सनको निर्देशनलाई अटेर गर्दे प्रदेश २ का निजी विद्यालयलले परीक्षा किन लिएनन् ?


काठमाडौं/५ बैशाख– कोरोना भाइरसको माहामारी विश्वभर तीव्र रुपमा फैल्दै थियो । त्यसको असर नेपालमा नहुने कुरै भएन । अभिभावक र विद्यार्थीमा डर त्रास थियो । कति अभिभावकले आफ्ना छोरछोरीलाई विद्यालय पठाउन समेत छोडिसकेका थिए । यसैबीचमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय क्षेत्रमा बढी मात्रामा सर्वसाधारण आवतजावत हुने भएकाले विद्यालयहरु संवेदनशील र सचेत हुनुपर्ने भन्दै फागुन २० गते सम्पूर्ण विद्यालयहरुलाई कक्षा १ देखि ९ सम्मको अन्तिम परीक्षा चैत ५ गतेभित्र लिन निर्देशन दियो ।


मन्त्रालयले दिएको निर्देशन अनुसार नै मुलुकभरका विद्यालयहरूले शैक्षिक सत्र २०७६ को कक्षा १ देखि ९ सम्मको परीक्षा चैत ५ गतेभित्र नै सम्पन्न गरे । प्रदेश नम्बर २ कै सामुदायिक विद्यालयमा पनि चैत ५ गतेभित्र नै परीक्षा सम्पन्न भयो । तर, प्रदेश नम्बर २ का निजी विद्यालयहरुले उक्त निर्देशनलाई अटेर गर्दै परीक्षा लिएनन् । चैत्र ६ गते हुने एसईई परीक्षासँगै कक्षा १ देखि ९ सम्मको परीक्षा पनि सञ्चालन गर्ने निजी विद्यालय छाता संगठनहरुले तालिका बनाए । तर, कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले चैत्र ६ गतेदेखि तोकिएको एसईई परीक्षा समेत स्थगित गरे सँगै प्रदेश नम्बर २ का निजी विद्यालयले कक्षा १ देखि ९ सम्मको परीक्षा नै लिन पाएनन् ।

प्रदेश नम्बर २ का निजी विद्यालय छाता सँगठन संग यो कुरा खबर एजुकेशन अनलाइनले बुझ्न खोज्दा कोहि पनि बोल्न चाहेनन् । विद्यार्थीको फिस उठाउनकै लागि उनीहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिएको उक्त निर्देशनलाई अटेर गरेको स्रोतले जनाएको छ । उनीहरु विद्यार्थीको भविष्य र जीवनप्रति चिन्तित भन्दा पनि विद्यार्थीसँग फिस कसरी उठाउनेमा बढी केन्द्रित रहे, जसले गर्दा प्रदेश २ अन्तर्गतका आठ जिल्लाका एक हजारभन्दा बढी विद्यालयमा परीक्षा सम्पन्न हुन सकेन । परीक्षा नभएपनि उनीहरुले विद्यार्थीसँग फिस उठाइसकेको स्रोतले जनाएको छ ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २० फागुनमै सूचना प्रकाशित गरेर कक्षा ९ सम्मको परीक्षा चैत्र ५ गते भित्र चाँडो सम्पन्न गर्नु भने संगै निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले कोरोना भाइरसको संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजरमा राख्दै सबै विद्यालयहरुलाई शैक्षिक सत्र २०७६ को (कक्षा–९ सम्मका) वार्षिक परीक्षा २०७६ चैत्र ५ गतेभित्र सम्पन्न गर्न सदस्य विद्यालयहरुलाई अनुरोध गरेको थियो । तर, प्रदेश २ प्याब्सनले केन्द्रीय प्याब्सनको यो निर्णयलाई नमान्ने भन्दै बेवास्था गरेको छ । केन्द्रीय प्याब्सनका एक जना सदस्याका अनुसार उनीहरुले आफ्नै समय तालिका अनुसार परीक्षा सञ्चालन गर्ने जनाएका थिए ।


तर, यता प्रदेश २ प्याब्सनले परीक्षा सार्ने सूचना ढिलो आयो भन्दै आफ्नो बचाउ गर्न खोजेको देखिन्छ । जब की देशभरका सबै विद्यालयले त्यही समय तालिका भित्र कक्षा १ देखि ९ सम्मको परीक्षासम्पन्न गरेका छन् । प्रदेश २ का निजी विद्यालयले मात्रै परीक्षा गर्न किन सकेन ?

मन्त्रालयको सूचना यस्तो थियो

प्याब्सनको सूचना यस्तो थियो