काठमाडौं/५ बैशाख–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सातै प्रदेशका सामाजिक विकास मन्त्रीसँग अनलाइन बैठक बसेका छन् ।
चैत ११ गतेबाट सुरु भएको लकडाउन पछिल्लो समय यसलाई थप गरी बैशाख १५ सम्मका लागि निरन्तरता दिइएको अवस्थामा यस विषम परिस्थितिबाट शिक्षा क्षेत्रमा परेको असर तथा तत्काल गर्नुपर्ने काम र आगामी आर्थिक वर्षमा प्राथमिकतामा राख्नुपर्ने नीति तथा कार्यक्रमका विषयमा बैठकमा छलफल गरिएको थियो ।
यसैगरी, बैठकमा हाल स्थगित गरिएको एसईई परीक्षा तथा कक्षा ११ र १२ को परीक्षाको व्यवस्थापन र सञ्चालनको वैकल्पिक उपायहरु, विद्यार्थीको सिकाइमा अनलाइन एवम् खुला तथा वैकल्पिक पद्धतिको प्रयोगको सम्भावनाका बारेमा छलफल गरिएको थियो ।
कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्येनजर राख्दै लकडाउन लम्बिएको अवस्थामा शैक्षिक सत्रको व्यवस्थापन लगायत आर्थिक वर्षका लागि नेपाल सरकार र प्रदेश सरकारका शिक्षा सम्बन्धी नीति तथा कार्यक्रममा प्राथमिकता दिनुपर्ने विषयहरु र सहकार्यका क्षेत्रहरुका बारेमा छलफल गरिएको शिक्षा मन्त्रालयका सहसचिव दीपक शर्माले जानकारी दिए ।
लकडाउनका कारण एसईई, कक्षा ११ र १२, विश्वविद्यालय र सीटीईभीटीका परीक्षाहरु स्थगित भएका छन् भने बैशाखबाट सुरु हुने विद्यालय तहको नयाँ शैक्षिक सत्र समेत प्रभावित भएको छ । यस्तै, लकडाउनकै कारण सम्पन्न भएका परीक्षाहरुको नतिजा सार्वजनिक हुन सकेको छैन ।