संविधान प्रदत्त अधिकार उपयोग माथि धावा नबोल्न शिक्षक महासंघको चेतावनी

काठमाडौँ /२५ कार्तिक – शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपाल शिक्षक महासंघ र आवद्ध सबै संघ संगठनलाई मान्यता नदिने निर्णय प्रति नेपाल शिक्षक महासङ्घले असहमति जनाउँदै संविधान प्रदत्त श्रमिकको ट्रेड युनियन अधिकार उपयोग माथि धावा बोल्ने वा बाधित गर्ने प्रयत्न नगर्न आग्रह गरेको छ ।


नेपाल शिक्षक महासङ्घ विशुद्ध पेसागत संस्था रहेको उल्लेख गर्दै संस्थामा रहेका सबै आबद्ध–सम्बद्ध संस्थाहरू शिक्षक–कर्मचारीका पेसागत मागमुद्दा र शिक्षाको विकासको पक्षमा पैरवी र पक्षीकरणका लागि खडा भएका पेसागत संस्था रहेको जनाएको छ ।


यसैगरी शिक्षक संघ संगठनहरु मौजुदा संविधान प्रदत्त श्रमिकको ट्रेड युनियन अधिकार, शिक्षा ऐन तथा श्रम ऐनबाट प्राप्त अधिकारको प्रयोग गरी पेसागत आन्दोलनमा मात्र संलग्न रहेको उल्लेख गर्दै पेसागत आन्दोलनको संलग्नता र ट्रेड युनियन अधिकारको उपयोगलाई राजनीतिक संलग्नताको रुपमा अथ्र्याउन र बुझ्नु उचित नहुने महासंघको भनाई छ ।


विज्ञप्तिमा भनिएको छ “आबद्ध–सम्बद्ध संस्थाहरूको कुनै पनि राजनीतिक मुद्दा तथा क्रियाकलापमा संलग्नता रहेको छैन भन्ने कुरा प्रष्ट पार्दै आफ्नो कर्तव्य पथमा निष्ठापूर्वक लागि रहेका शिक्षक–कर्मचारीलाई निरुत्साहित तथा लाञ्छित नगर्न हामी आग्रह गर्दछौं । त्यसैगरी राजनीतिक संलग्नताको आवरणमा संविधान प्रदत्त श्रमिकको ट्रेड युनियन अधिकार उपयोग माथि धावा बोल्ने वा बाधित गर्ने प्रयत्न नगर्न आग्रह गर्दै कहीं कतैबाट यस्ता प्रयत्न भएमा नेपाली शिक्षक–कर्मचारीले सहन नगर्ने कुरा समेत सम्बन्धित सबैमा जानकारी गराउँछौं ।”