छोटो समयमै क्युएए प्रमाणपत्र प्राप्त गर्न सफल बुटवल कालिका क्याम्पस

रूपन्देही/१८ साउन – बुटवल कालिका क्याम्पसले विश्वविद्यालय अनुदान आयोग नेपालबाट क्युएए प्राप्त गरेको छ । स्थापनाको सबैभन्दा छोटो अवधिमा गुणस्तर सुनिश्चितता तथा प्रत्ययन ९ क्युएए० प्राप्त गर्ने नेपालको पहिलो सामुदायिक क्याम्पस बन्न सफल भएको हो ।


त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी २०७० सालमा स्थापना भएको क्याम्पसले १२ वर्षभित्रै क्युएए प्रमाणपत्र हात पारेको हो ।


प्रमाणपत्र विश्वविद्यालय अनुदान आयोगको कार्यालय, भक्तपुरमा प्रदान गरिएको थियो । आयोगका अध्यक्ष प्रा।डा। देवराज अधिकारीको अध्यक्षता, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा। दीपक अर्यालको प्रमुख आतिथ्यतामा हस्तान्तरण गरिएको क्याम्पसले जनाएको छ । कार्यक्रमका वक्ताहरूले बुटवल कालिका क्याम्पसले त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसहरूमा पनि यति छोटो अवधिमा क्युएए हासिल गरेर आफ्नै पहिचान स्थापित गर्न सफल भएको भनाई थियो ।


भौतिक, शैक्षिक र गुणस्तरका दृष्टिले सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसहरूमा कालिका क्याम्पस निकै उत्कृष्ट रहेको विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले बताए ।


क्याम्पसले २०७९ चैत २९ गते आशय पत्र स्वीकृत गराएपछि स्व–अध्ययन रिपोर्ट पेस, पिआरटी टोलीको मूल्याङ्कन भ्रमण, स्न्याप भ्रमण, र ईक्युएएसी सिफारिस लगायतका सबै चरणहरू पूरा गरेको थियो ।


क्याम्पस सञ्चालक समितिका अध्यक्ष होमबहादुर गलामीले उपलब्धिपछि खुसी व्यक्त गर्दै यो सफलता सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक, सञ्चालक समिति, क्याम्पस सभा, स्टुडेन्ट क्वालिटी सर्कल तथा भूपू विद्यार्थीहरूको साझा प्रयासले सम्भव भएको बताए ।


यसैगरी क्याम्पस प्रमुख घनश्याम पाठकले गुणस्तर सुनिश्चितता मात्रै कुनै अन्तिम बिन्दु नभएको उल्लेख गर्दै क्याम्पसले गुणस्तर अभिवृद्धिको यात्रालाई निरन्तर जारी राखेको र आगामी दिनमा थप प्रगति गर्ने अठोटका साथ अघि बढिरहेको बताए ।
हाल क्याम्पसमा करिब ४ हजार विद्यार्थी अध्ययनरत छन् । स्नातक तहमा बिबिएस, बिएड, बिएएसडब्लु र स्नातकोत्तर तह एमएमा ग्रामीण विकास र अङ्ग्रेजी कार्यक्रम सञ्चालनमा छन् ।