ललितपुर/१७ साउन – सानो संसार प्रि–स्कुल र काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशन बीच शिक्षकहरूको पेसागत विकास तथा समग्र शैक्षिक सुधारलाई प्रवर्धन गर्ने उदेश्यले सहकार्य गरिएको छ । शैक्षिक सहकार्यका लागि विश्वविद्यालयका तर्फबाट डिन प्रा.डा. बालचन्द्र लुइटेल र सानो संसार प्रि–स्कुलका तर्फबाट विद्यालयकी प्राचार्य रश्मिता महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार विद्यालयमा कार्यरत शिक्षकहरूको पेसागत आवश्यकता पहिचान गरिनेछ, त्यसपछि आवश्यकता अनुसार तालिम कार्यक्रमहरू सञ्चालन गरिनेछन् । विद्यालय रूपान्तरण कार्यक्रमका संयोजक मदन रिजालले यो सहकार्यले शिक्षकहरूलाई नवीनतम शैक्षिक विधि, अनुसन्धानमा आधारित अभ्यास र विद्यार्थी–केन्द्रित शिक्षण प्रविधिमा अभ्यस्त गराउने बताए । यो कुनै सामान्य तालिम नभई रूपान्तरणको यात्रा भएको उनको भनाई थियो ।
सानो संसार प्रि–स्कुल, लामो समयदेखि समावेशी र नवप्रवर्तनशील शिक्षा प्रवाह गर्ने संस्थाको रूपमा चिनिँदै आएको छ । विद्यालयले आफ्ना शिक्षकहरूलाई अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक सीप र ज्ञानमा दक्ष बनाउन निरन्तर प्रयास गरिरहेको छ । यस सन्दर्भमा विश्वविद्यालयसँगको सहकार्यले विद्यालयमा गुणस्तरीय शिक्षाको नयाँ अध्याय सुरु गर्ने विश्वास गरिएको छ ।
प्राचार्य रश्मिता महर्जनले सम्झौता कार्यक्रमपछि प्रतिक्रिया दिँदै भनिन्, “हामी सधैँ शिक्षकको सशक्तीकरण मार्फत बालबालिकाको समग्र विकासमा विश्वास राख्छौँ । यो सहकार्यले हामीलाई अझ प्राज्ञिक र प्रभावकारी दिशातर्फ डोर्याउने छ ।“
त्यस्तै प्रा.डा. लुइटेलले यस्तो सहकार्यले विश्वविद्यालयको अनुसन्धान, ज्ञान उत्पादन र सामाजिक योगदानका आधारमा स्थानीय विद्यालयहरूमा सकारात्मक परिवर्तन ल्याउने अवसर प्रदान गर्ने बताए ।



