एमएस्सी इन्जिनियरिङमा हिलसाइड उत्कृष्ट

काठमाडौँ /११ असार – सन् २०१२ देखि बिइ सिभिल र बिइ इलेक्ट्रीकल कार्यक्रमहरू सञ्चालन गर्दै शुरु गरेको शैक्षिक यात्रा सुरु गरेको हिलसाइड इन्जिनियरिङ कलेजले सन् २०२३ देखि सिभिल तर्फ एमएस्सी इन कन्ष्ट्रक्सन मेनेजमेण्ट र इलेक्ट्रीकल तर्फ एमएस्सी इन इलेक्ट्रीकल पावर इन्जिनियरिङ कार्यक्रमहरू थप गरेर विशिष्टीकृत गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएको छ ।


साथै यसै शैक्षिक सत्र २०८२ देखि बिइ तर्फ कम्प्युटर इन्जिनियरिङ र आइटीको अर्को आयाम ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बिआइटी) समेत सञ्चालनको लागि पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन प्रदान गरेको छ ।


नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्रा.डा. पद्म बहादुर शाहीको प्रमुख आतिथ्यता, पूर्वाञ्चल विश्वविद्यालयका डेपुटी कन्ट्रोलर मेनुका श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न भएको ग्य्राजुएट ओरियन्टेसन कार्यक्रममा हिलसाइड कलेज अफ इन्जिनियरिङका फ्याकल्टीको भूमिकामा समेत रहनु भएका पूर्व सचिव एवं जलस्रोत विज्ञ दिनेश घिमिरे, पूर्व सचिव रबिन्द्र श्रेष्ठ, पूर्व सचिव मणिराम गेलाल, नाष्टका पूर्व भिसी प्रा.डा. सुनिलबाबु श्रेष्ठ लगायत अतिथिको रूपमा थिए ।


नयाँ विद्यार्थीहरूलाई शुभकामना दिदै प्रमुख अतिथि शाहीले गुणस्तर सम्बन्धमा काउन्सिलले अनुगमन, मुल्यांकन र नियमन गरिरहेको हुँदा कुनै गुनासो भए काउन्सिलमा सम्पर्क राख्न सकिने जानकारी गराउँदै हिलसाइड कलेज अफ इन्जिनियरिङले न्यूनतम भौतिक पूर्वाधार लगायत काउन्सिलले तोकेका गुणस्तर तथा मापदण्ड पूरा गरेकोले नै काउन्सिलले स्थायी अनुमति प्रदान गरेको बताए । ‘पढाउने फ्याकल्टीहरूमा हिलसाइड कलेजले उत्कृष्टता हासिल गरेको जानकारी गराउन पाउँदा खुसी लागेको छ, यसलाई निरन्तरता दिदै अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने अपेक्षा गरेको छु’ उनले भने ।


त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालयका डेपुटी कन्ट्रोलरले एकाडेमिक क्यालेन्डरलाई पूर्ण रूपमा लागु गर्न गराउन प्रतिबद्ध रहेको र इन्जिनियरिङ तर्फ पनि लगभग परीक्षा र रिजल्ट समयमै गर्न गैरहेको बताए । अब विद्यार्थीले ४ वर्षे कोर्स ४ वर्षमै, २ वर्षे कोर्स २ वर्षमै पूरा गरेर सर्टिफिकेट उपलब्ध गराउने अठोटका साथ अघि बढेको तर यसका लागि फ्याकल्टीज, विद्यार्थी, अभिभावकहरूको सहयोग आवश्यक पर्ने उनको भनाई थियो ।


पूर्व सचिव दिनेश घिमिरेले नेपालमा अहिले इनर्जी सेक्टरमा भैरहेको लगानी, इनर्जी निकासी र इनर्जी खपतको सन्दर्भमा हजारौँ इलेक्ट्रीकल इन्जिनियर आवश्यक पर्ने भन्दै पूर्वाञ्चल विश्वविद्यालयको पाठ्यक्रमले त्यस्ता जनशक्ति उत्पादन गर्ने कार्यमा सम्बोधन गर्ने भएकोले आफूले जानेको ज्ञान पुस्तान्तरणको लागि हिलसाइडको फ्याकल्टी भएको जानकारी दिए ।


पूर्व सचिव मणीराम गेलाल, रबिन्द्र श्रेष्ठले समृद्ध नेपाल निर्माणका लागि कन्स्ट्रक्सन क्षेत्र अपरिहार्य भएको र सो को व्यवस्थापन गर्ने जिम्मेवार जनशक्ति उत्पादन गर्न हिलसाइड कलेज अफ इन्जिनियरिङले सिभिल इन्जिनियर तथा विशिष्टीकृत अध्ययन मार्फत ग्य्राजुएट गराइरहेको र आफूहरूले जानेको ज्ञान एक्सचेन्ज गर्न पाउँदा प्राज्ञिक क्षेत्रको छुट्टै अनुभूति महसुस भएको बताए ।


नाष्टका पूर्व भिसी प्रा.डा. सुनिल बाबू श्रेष्ठले रिसर्चमुखी अध्ययन अध्यापन गराउनेगरी एमएस्सी प्रोग्राम सञ्चालन भैरहेको र यसको पाठ्यक्रम तर्जुमा देखि नै आफू संलग्न रहेको बताउँदै मुलुकको अबको दस वर्षसम्म कस्तो जनशक्ति आवश्यक पर्छ भन्ने प्रक्षेपणको आधारमा कोर्स तयार पारिएकोले स्वदेश तथा विदेशमा प्राप्त गरेको अनुभव शेयरिङ गर्ने उद्देश्यले हिलसाइड कलेज अफ इन्जिनियरिङ संग जोडिएकोमा आफूले गौरब गरेको बताए ।


हिलसाइड कलेज अफ इन्जिनियरिङका एमडी गोपीकृष्ण न्यौपानेले अहिले नेपालमा १२ कक्षा सक्ना साथ अभिभावकलाई ४०-५० लाख लोन बोकाएर विद्यार्थी विदेश जाने प्रचलन रहेको बताए । उनले भने ‘गत वर्षसम्म पहिलो किस्ता मात्रै विदेश पठाउथे, त्यसपछि विद्यार्थीले कमाएर कलेजको फी तिर्थे, अहिले उता काम नपाएर विद्यार्थी अलपत्र अवस्थामा परेका छन र सबै शुल्क यताबाटै पठाउनुपरेको छ । ४/५ वर्ष पछि पनि काम नपाएको खण्डमा सबै रिण अभिभावकले नै तिर्नुपर्ने हुन्छ, यो बेला कतिको घरखेत पनि लिलाम हुनसक्छ । त्यसैले एनओसीमा कन्ट्रोल गरौ, स्नातक/स्नातकोत्तर तहमा अध्ययन गर्न जानेलाई मात्रै एनओसी दिऔँ । तालिमको लागि भन्दै काम गर्न जो एनओसी बाँड्ने गरिएको छ, त्यो अवैध छ, तत्काल रोक्नुपर्छ ।’


उनले हिलसाइड कलेज अफ इन्जिनियरिङले पढाई सकिएपछि कमाएर तिर्न मिल्ने लोनको व्यवस्था गरेको र त्यसका लागि माछापुच्छ्रे बैँकसँग सम्झौता गरेर कार्यान्वयनमा ल्याएको जानकारी दिए । सिभिल र इलेक्ट्रिकल बाहेक कम्प्युटर र बिआइटी प्रोग्रामको लागि पनि यो स्कीम लागु हुने उनले बताए ।


अतिथि तथा फ्याकल्टीको भूमिकामा रहेका काठमाडौँ उपत्यका विकास प्राधिकरणका सहसचिव ई. नवराज गेलालले प्राधिकरणले उपत्यका भित्र गरिरहेका विकास निर्माणका कामहरु, आगामी दिनका स्मार्ट सिटी, वैकल्पिक रिङरोड लगायतका योजनाहरूमा हिलसाइड कलेज अफ इन्जिनियरिङका विद्यार्थीहरूलाई जोड्न सकिने जानकारी दिए ।


कलेजका अध्यक्ष शिक्षाविद् जनार्दन नेपालले मूल कुरा फ्याकल्टीजको व्यवस्थापन रहेको बताउँदै कलेजले त्यसमा पुरै ध्यान दिएका दाबी गरे । उनले भने ‘न्यूनतम पूर्वाधार अहिले पनि छ, ल्याबमा हामी १ नम्मर नै छौँ, हरेक वर्ष इन्टरनेशनल कन्फेरेन्स गर्ने गरिएको छ, यसबाहेक अतिरिक्त क्रियाकलापमा पनि हामी अगाडि नै छौँ, इन्टर्नसिपको लागि धेरै वटा संस्थाहरू सँग एमओयु गरिएको छ । विद्यार्थीले ढुक्कसँग पढ्दा हुन्छ, हामी हाम्रा विद्यार्थीलाई दक्ष र योग्य बनाएर पठाउने कोसिसमा छौँ, विद्यार्थीले मेहनत, परिश्रम गर्दै कलेज र विश्वविद्यालयले बनाएको नियममा बसेर अध्ययन गर्न सके प्रतिफल राम्रो हुनेछ ।’