काठमाडौं/६ असार – त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायले विद्यावारिधि तहमा भर्ना खुला गरेको छ ।
डीनको कार्यालय अन्तर्गतको अनुसन्धान समितिको असार ३ गतेको बैठकको निर्णयानुसार यस सङ्कायद्वारा सञ्चालित दर्शनाचार्य (एमफिल) तह पूरा गरी विद्यावारिधि (पिएचडी) कार्यक्रम अन्तर्गत २०८२ साउने सत्रमा भर्ना भई अध्ययन गर्न चाहने उम्मेदवारहरूका लागि आवेदन दिन खुल्ला गरेको हो ।
आवेदन फाराम दर्ता गर्ने असार ६ गतेदेखि ३२ गतेसम्म तोकिएको छ । विस्तृत जानकारीका लागि मानविकी तथा सामाजिक शास्त्र सङ्कायको वेबसाइट www.tufohss.edu.np हेर्न सकिने छ ।



