काठमाडौं/५ असार – प्रिमियर इन्टरनेशनल स्कुलले बालबालिकाले घरमा ग्याजेट प्रयोगको नीति बहस तथा अभियानको सुरुवात गरेको छ । विद्यार्थीको मानसिक स्वास्थ्य तथा पठनपाठनमा ध्यान दिने क्षमता र सिकाइको गुणस्तरलाई डिजिटल युगमा कसरी प्रयोग गर्ने, कति गर्ने सम्बन्धी अभियान थालेको हो ।
आजका बालबालिकाले अधिकाशं समय अनियन्त्रित रूपमा मोबाइल, ट्याब्लेट वा कम्प्युटरमा बिताउने गर्दा उनीहरूको एकाग्रता, भावनात्मक सन्तुलन र पढाइमा स्पष्ट रूपमा देखिन थालेकोले नीति बहस गर्न आवश्यक रहेको विद्यालयको भनाई छ । यस्ता समस्यालाई सम्बोधन गर्दै प्रिमियरले विद्यालय सिकाइलाई अब घरसम्म विस्तार गर्दै डिजिटल वेलबिइङको संरचना प्रस्तुत गरेको छ ।
विद्यालयका अभिभावक प्रतिनिधिहरूको सहकार्यमा बालबालिकाको पूर्व प्राथमिकदेखि उच्च माध्यमिक विद्यालयसम्मका विद्यार्थीका लागि उमेरअनुकूल व्यावहारिक र सन्तुलित नीति तयार पारिएकाले यो कार्यविधि विशेष रहेको जनाएको छ । यसले स्क्रिनको प्रयोग समय सीमित गर्ने, गुणस्तरीय विषयवस्तु निर्धारित गर्ने, अभिभावकले विशेष निगरानी गर्ने र परिवारसँग आत्मीय समय बिताउने संस्कारलाई पुनर्जीवित गर्न प्रोत्साहित गर्ने गरेको जनाएको छ ।
विश्वव्यापी रूपमा डिजिटल ओभरएक्सपोजरका लागि विभिन्न देशहरूले धेरै प्रतिबन्ध लगाएका छन् । जस्तै, फ्रान्सले स्कूलमा स्मार्टफोन प्रतिबन्ध लगाएको छ । अमेरिकामा किशोर–किशोरीका लागि सामाजिक सञ्जाल नियमन गर्ने व्यवस्था छ; यसै सन्दर्भमा नेपालमा प्रिमियरले घरमा ग्याजेट प्रयोगको नीति ल्याएर उदाहरण प्रस्तुत गरेको छ ।
विभिन्न मानसिक चुनौतीहरूसँग जुध्न प्रिमियरले नेपालको सन्दर्भमा लागू हुने व्यावहारिक नीति तयार पारेको छ; जसले स्क्रिनको लत, ध्यान कमजोर हुनु, त्रासदी उत्पन्न हुनु , सामाजिक व्यवहारसम्बन्धी समस्या र साइबर सुरक्षाजस्ता विश्वव्यापी जोखिमहरूलाई सम्बोधन गर्ने छ ।
विद्यालयका शैक्षिक निर्देशक प्रभिना थापाले यो कुनै विद्युतीय उपकरण प्रतिबन्ध गर्ने नीति नभएको बताइन । हाम्रा बच्चाहरूको ध्यान केन्द्रित गर्ने क्षमता, डिजिटल सुरक्षाबोध, सामाजिक विकास र विद्यार्थीको समग्र हितको रक्षा गर्ने अभियान रहेको उनको भनाई छ ।



