शिक्षक महासङ्घ र शिक्षा मन्त्रालयबिचको वार्ता सकारात्मक, सकेसम्म छिटो टुङ्ग्याउने सहमति

काठमाडौं/१६ बैशाख – नेपाल शिक्षक महासङ्घ र शिक्षा मन्त्रालयबिच भएको वार्ता सकारात्मक भएको भनिएपनि अझै निष्कर्षमा पुग्न छलफल आवश्यक रहेको शिक्षामन्त्री रघुजी पन्तले बताएका छन् । राती १ बजेसम्म सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्ता सकारात्मक भएको तर केही विषयमा छलफल हुन बाँकी रहेकोले ठोस सहमतिमा नपुगेको बताएका हुन् ।


हिजो बसेको मन्त्रीपरिषद्को बैठक पछि राति अवेर गरेर आन्दोलनरत शिक्षकहरूसँग बसेको वार्तामा सरकारकोतर्फबाट नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेका थिए भने महासङ्घको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको टोलीले रहेको थियो । वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए । उनले भने, ‘केही विषय टुङ्गो लगाउन बाँकी छ । सकेसम्म छिटो टुङ्ग्याउने गरी अगाडि बढ्ने सहमति भएको छ ।’


नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकशिोर सुवेदीले शिक्षा मन्त्रालयमा विभिन्न विषयमा लामो छलफल चलेपनि निष्कर्षमा पुग्न नसकिएको बताए । उनले छलफल निष्कर्षमा नपुगेसम्म आन्दोलन जारी रहेको जानकारी दिए ।