काठमाडौं/८ बैशाख – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले आन्दोलनरत शिक्षक महासङ्घ सँगको वार्ता एक, दुई दिन भित्रै निष्कर्षमा पुग्ने बताएका छन ।
’शिक्षकका माग सम्बोधनका लागि सरोकारवाला निकायसँग सरकार र पार्टीकोहरुबिचमा गम्भीर छलफल भइरहेको छ, नियमित भर्ना र १२ कक्षाको परीक्षा प्रभावित नहुने गरि वार्ता सफल पार्ने कोसिस भईरहेको छ’ विद्यालय शिक्षा विधेयकका बारेमा शिक्षा विभागको आधिकारिक धारणा तय गर्ने क्रममा पार्टी कार्यालय सानेपामा भ्रातृ र शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिसँगको छलफलमा महरले उक्त कुरा बताएका हुन् ।
उनले सरोकारवालाहरूबिचको वार्ता सकारात्मक रहेकाले एक/दुई दिनमै निकास निस्कने विश्वाससमेत व्यक्त गरेका छन् । शिक्षकहरूको आन्दोलनका कारण नयाँ शैक्षिक सत्रको भर्ना प्रक्रिया नै अवरुद्ध हुनुका साथै कक्षा १२ को परीक्षासमेत अवरुद्ध हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै कांग्रेस समस्या समाधानमा गम्भीर रहेको उनले बताए ।
सरकारलाई समेत माग सम्बोधनमा गम्भीर हुन आग्रह गरेका छन् । ’चैत २० यता शिक्षकहरू निरन्तर प्रदर्शनमा हुनुहुन्छ । यसले लाखौँ विद्यार्थी मारमा परेका छन् । यस्तो अवस्थामा सरकारसँगको शिक्षकहरूको वार्ता सकारात्मक रूपमा अघि बढिरहेकाले चाँडो निकासमा पु¥याउनुपर्छ । यो संवेदनशील घडीको आन्दोलनरत शिक्षक समुदायले बुझ्ने कुरामा पनि हामी विश्वस्त छौँ । छलफल सकारात्मक भएर मात्र हुँदैन, निष्कर्षमा पुग्नु जरुरी छ,’ उनले भने ।
भर्ना प्रक्रिया अवरुद्ध नहोस् र कक्षा १२ को परीक्षा प्रभावित नहोस् भन्नेमा कांग्रेस चिन्तित रहेकाले सरकार र शिक्षक महासङ्घसँग निरन्तर छलफल भइरहेको समेत उनले प्रस्ट पारे ।
शिक्षा विधेयकका विषयमा पार्टीको आधिकारिक धारणाका लागि शिक्षा विभाग प्रमुखको हैसियतले आफूहरू शिक्षा विधेयकको ड्राफ्ट निर्माणका लागि पार्टी भित्र बाहिर छलफल अन्तरक्रिया भइरहेको महरले जनाए ।
’नेपालको संविधानले व्यवस्था गरेको १२ कक्षासम्म निःशुल्क शिक्षा कार्यान्वयनको सवाल र ’थ्री पी’ पब्लिक प्राइभेट पार्टनरसिपको अवधारणा अनुरूप निजी लगानीको संरक्षण गर्ने , शिक्षामा २०% बढी बजेट विनियोजन, विदेशी विश्वविद्यालय बाट अनुमति लिएर सञ्चालन भएका कलेज र शैक्षिक परामर्शदातृ संस्थाहरूको नियमन, प्राविधिक र जीवन उपयोगी शिक्षा कुरामा पनि कांग्रेसले धारणा तय गर्दैछ । एकै प्रकारका शिक्षकको व्यवस्था गर्ने, राज्यको हैसियतले भ्याएसम्म शिक्षकहरूको सेवा सुविधा बनाउने, उनीहरूको बढुवालगायत शिक्षकका थुप्रै मागप्रति कांग्रेस सकारात्मक छ,’ महरले भने ।
कांग्रेस शिक्षाको गुणस्तरीयता कायम गर्न र शिक्षकका माग सम्बोधनमा दृढ रहेको कुरामा कसैलाई दुविधामा नपर्ने महरले आग्रह गरेका छन् । तर गुणस्तरीय शिक्षाका लागि शिक्षकको कर्तव्य र योगदान बढी जिम्मेवार हुने कुरा पनि बिर्सिनु हुदैन ’विश्व बजारसँग प्रतिस्पर्धा गर्ने खालको शिक्षा नेपालको हुनुपर्छ भन्नेमा हामी दृढ छौँ । शिक्षकका माग सम्बोधन र शिक्षा क्षेत्रका समस्या समाधानका लागि हामी घनीभूत परामर्शमा छौँ , हामीले असल र गतिशील शिक्षकका मार्फत उन्नत शिक्षाको समाजले अपेक्षा गरेको ।यद्यपि चाँडै समस्याको हल निस्कन्छ,’ उनले भने ।



