प्रधानमन्त्रीज्यू ‘जब मैले नेपालमै अवसर खोजेँ, तब म बेरोजगार भएँ’

चितवन/१२ फागुन – प्रधानमन्त्रीलाई पत्र :


सम्माननीय प्रधानमन्त्रीज्यू,
नेपाल सरकार, सिंहदरबार


विषयः शिक्षित युवा इन्जिनियरहरूको बेरोजगारी र नेपालमै अवसर सिर्जना गर्न आग्रह सम्बन्धमा
सम्माननीय प्रधानमन्त्रीज्यू,


म मेहनत, लगनशीलता र अथक प्रयासका साथ वर्षौंसम्म अध्ययन गरेँ । रातभर जाग्राम बसेर परीक्षा दिएँ, अनगिन्ती सपना बुनेँ, र अन्ततः इन्जिनियर बन्न सफल भएँ । मेरो परिवारले ठूलो आशा राखेका थिए—अब मेरो भविष्य उज्यालो छ । तर, जब राष्ट्र निर्माणमा योगदान दिने बेला आयो, जब मैले नेपालमै अवसर खोजेँ, तब म बेरोजगार भएँ । केवल म मात्र होइन, हजारौं इन्जिनियर, डाक्टर, वैज्ञानिक, प्राध्यापक तथा सीपयुक्त युवा आज आफ्नै भूमिमा उपेक्षित महसुस गरिरहेका छन् । सरकार ठूला विकास योजनाहरू घोषणा गर्छ, तर ती योजनाहरूमा दक्ष नेपाली जनशक्तिलाई प्राथमिकता दिइँदैन ।


नेपाल समृद्धिको यात्रामा छ भन्ने सुनिन्छ, तर सो यात्रामा शिक्षित नेपाली युवाको स्थान कहाँ छ ? किन हामी आफ्नै भूमिमा पराइझैँ भएका छौँ ? नेपालमा पूर्वाधार निर्माण भइरहेका छन्, तर नेपाली इन्जिनियरहरूलाई प्राथमिकता दिइँदैन । सरकारी रोजगारीमा योग्यता हेरिनुको सट्टा सिफारिस र राजनीतिक पहुँचलाई प्राथमिकता दिइन्छ । निजी क्षेत्रमा न्यूनतम पारिश्रमिक नपाएर योग्य युवा अपमान सहेर बाँच्न बाध्य छन् । ठूला आयोजना विदेशीहरूलाई दिनुपर्ने बाध्यता किन रह्यो ? नेपाली दक्ष जनशक्ति उपेक्षित किन छ ? हामी नेपालमै बस्न, यही देश बनाउने सपना देख्छौँ, तर आत्मसम्मानका साथ बाँच्ने अवसर किन छैन ?


वास्तविकता बोल्ने केही तथ्यांकहरू हेरौँ । २०७५/७६ मा ५.९५ लाख युवा विदेशिए । २०७८/७९ मा ७.६५ लाख, २०७९/८० मा ७.७१ लाख, र २०८०/८१ मा ७.४१ लाख युवा विदेशिन बाध्य भए । प्रत्येक वर्ष ६–७ लाख नेपाली युवा आफ्नै देशमा अवसर नपाएर विदेशिनु नेपालका लागि गम्भीर चिन्ताको विषय हो । शिक्षित, दक्ष युवाहरू बेरोजगार हुँदा पनि सरकार मौन छ । भोट माग्ने बेला रोजगार, समृद्ध नेपाल, युवा सशक्तीकरण जस्ता आकर्षक नाराहरू सुन्न पाइन्छ, तर जब रोजगारी सिर्जनाको पालो आउँछ, तब सरकार हामीलाई बिर्सन्छ । देशका श्रमशक्ति विदेशिँदा नेपाल कसरी समृद्ध हुन्छ ?


नेपालमा रोजगारी छैन । सरकारी जागिरमा योग्यताको होइन, सिफारिस र पहुँचको मूल्य छ । निजी क्षेत्रमा न्यून पारिश्रमिकले जीवन धान्न मुस्किल छ । सरकारी तथा निजी ठूला आयोजनामा विदेशीलाई प्राथमिकता दिइन्छ । नेपालमै आत्मसम्मानका साथ बाँच्ने अवसर छैन । हामी आफ्नो परिवार, आफ्नो माटो, आफ्नो देश छोड्न चाहँदैनौँ । तर जब यहाँ अवसर छैन, जब सरकार मौन छ, जब राज्यले आफ्ना युवालाई बिर्सन्छ, तब बाध्यता विदेशिनु हुन्छ ।


अब सरकारको उत्तर के छ ? के नेपाल आफ्नै दक्ष नागरिकलाई समेट्ने देश बन्न सक्छ ? के अब हामी नेपालमै बाँच्ने सपना देख्न सक्छौँ ? सरकारले रोजगारी सिर्जना गर्न स्पष्ट योजना बनाउने कि युवाहरूको पलायन हेरेर बस्ने ? अब परिवर्तन आवश्यक छ । सरकारसँग नीति बनाउन सक्ने अधिकार छ, कार्यान्वयन गर्ने शक्ति छ, तर त्यसका लागि इच्छाशक्ति छ कि छैन ?


हाम्रो सरकारसँग केही मागहरू छन् । देशभित्रै प्राविधिक जनशक्तिका लागि रोजगारी सुनिश्चित गर्न सरकार अग्रसर होस् । निर्माण, उद्योग, प्रविधि, कृषि, स्वास्थ्यलगायतका क्षेत्रमा दक्ष नेपाली जनशक्तिलाई प्राथमिकता दिइयोस् । नेपाली युवालाई देशमै आत्मसम्मानपूर्वक बाँच्न सक्ने वातावरण मिलाइयोस् ।


सम्माननीय प्रधानमन्त्रीज्यू,
हामी यो देशमै सपना देख्न चाहन्छौँ, तर के नेपाल आफ्नै दक्ष नागरिकलाई समेट्ने देश बन्न सक्छ ? के अब हामी नेपालमै बाँच्ने सपना देख्न सक्छौँ ? अब तपाईंको जवाफको प्रतीक्षा गर्नेछौँ ।


ई. विवेक पौडेल
चितवन