काठमाडौं/२४ कार्तिक – हब इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीले ‘आइरिस एजुकेसन फेयर–२०२४’ को आयोजना गर्ने भएको छ । विदेशबाट उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई सही गन्तव्य छनोट गर्न मद्दत मिलोस् भन्ने उद्देश्यले शैक्षिक मेलाको आयोजना गर्न लागेको हो ।
काठमाडौंको हात्तीसारस्थित हबको आफ्नै भवनमा गर्न लागेको शैक्षिक मेलामा आयरल्यान्डका प्रतिष्ठित शैक्षिक संस्था–ट्रिनिटी कलेज डब्लिन, युनिभर्सिटी कलेज डब्लिन, युनिभर्सिटी कलेज कर्क, युनिभर्सिटी अफ गल्वे, नेशनल कलेज अफ आयरल्यान्ड, टेक्नोलोजिकल युनिभर्सिटी अफ श्यानन, डब्लिन बिजनेस स्कुल, ग्रिफिथ कलेज लगायत २० भन्दा बढी शिक्षण संस्थाहरुको सहभागिता रहने छ ।
विगत दुई दशकदेखि शैक्षिक परामर्श क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हबले स्थापनाकालदेखि नै आयरल्यान्डलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आइरहेको छ । विश्वासिलो, भरपर्दो र अनुभवी कन्सल्टेन्सीको छवि बनाएको हब आयरल्यान्डमा अध्ययन गर्न चाहनेका लागि आधिकारिक शैक्षिक परामर्श संस्था पनि हो ।
नेपाली विद्यार्थीलाई सन् २००६ देखि नै अध्ययनको व्यवस्था मिलाउँदै आएको र हालसम्म १ हजारभन्दा बढी नेपाली विद्यार्थीलाई अध्ययनका लागि आयरल्यान्ड पठाइसकेको हब इन्टरनेशनल एजुकेशनका अध्यक्ष उद्धवबहादुर खड्का बताए । उनले हबमार्फत त्यहाँ गएर अध्ययन गरेका विद्यार्थीले नेपाल फर्किएर विभिन्न क्षेत्रमा अब्बल जनशक्तिका रूपमा काम गर्दै आइरहेको र आयरल्यान्डलाई नै कर्मथलो बनाएकाले पनि त्यहाँका प्रतिष्ठित कम्पनीमा काम गरिरहेको बताए ।
उनका अनुसार आयरल्यान्ड नेपाली विद्यार्थीको लागि मात्र नभएर अन्तर्राष्ट्रिय विद्यार्थीकै लागि पनि सबैभन्दा राम्रो गन्तव्य हो । आयरल्यान्डमा अंग्रेजी बोलिने भएका कारण त्यहाँ भाषाको समस्या हुँदैन । त्यस्तै, अन्य अंग्रेजी भाषा चल्ने देशको तुलनामा आयरल्यान्डको शैक्षिक शुल्क थोरै भएका कारण पनि मध्यम वर्गीय पारिवारिक पृष्ठभूमि भएका विद्यार्थी त्यहाँ अध्ययन गर्न रुचाउँछन् ।
अध्ययन सकिएपछि त्यहाँको सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीलाई दुई वर्ष काम गर्ने अवसर पनि दिने गर्छ । जसले गर्दा त्यहाँ काम गरेको अनुभवसँगै विद्यार्थीले आफूलाई त्यहाँको रहनसहन, धर्म संस्कृतिलगायत विषयमा घुलमिल गराउन सक्छन् । यसले स्थायीरूपमै आयरल्यान्डमै बस्ने योजना बनाएका विद्यार्थीलाई सहज वातावरण सिर्जना हुन्छ ।
राम्रो भएर पनि लुकेको शैक्षिक गन्तव्यलाई उजागर गर्ने उद्देश्यले हब इन्टरनेशनल एजुकेशनले शैक्षिक मेलाको आयोजना गर्न लागेको हो । हबले आयरल्यान्डलाई नेपाली विद्यार्थीको वैकल्पिक शैक्षिक गन्तव्यका रूपमा लिन सकिने जनाएको छ ।
एजुकेसन इन आयरल्यान्डको समर्थनमा हबले आयोजना गरेको शैक्षिक मेला यही २९ कात्तिक अर्थात् १४ नोभेम्बरमा हुँदै छ । उक्त दिन बिहान ११ बजेदेखि मध्याह्न ४ बजेसम्म कार्यक्रम हुने हबले जनाएको छ । उक्त शैक्षिक मेला हबको केन्द्रीय कार्यालय हात्तीसार (लक्ष्मी सनराइज बैंकको ठीक अगाडि) मा आयोजना गरिने छ ।
यस शैक्षिक मेलामा सहभागी विद्यार्थीले आयरल्यान्डका उत्कृष्ट विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गर्ने अवसर प्राप्त गर्ने छन् । यस्तै, विद्यार्थीले प्रतिनिधिहरूसँग भेटेर आयरल्यान्डको शैक्षिक प्रणाली, त्यहाँको शैक्षिक वातावरण, अध्ययनपछिका अवसर तथा चुनौतीका विषयमा वान टु वान वार्ता तथा छलफल गर्ने अवसर प्राप्त गर्ने हबले जनाएको छ । शैक्षिक मेलामा सहभागी हुन कुनै शुल्क नलाग्ने भएका कारण इच्छुक विद्यार्थी, अभिभावकलगायत सम्पूर्णमा उक्त अवसरको उपयोग गर्न हबले अनुरोध गरेको छ ।
हबको यो शैक्षिक मेलाको आइएलटिएस पार्टनरको रूपमा ब्रिटिस काउन्सिल रहेको छ । यस्तै, एजुकेसन इन आयरल्यान्डको पनि साथ रहेको छ ।



