स्काउटद्वारा राजधानीका ५० ठाउँमा सेनिटाइजर स्टेशन

काठमाण्डौं/६ चैत्र– नेपाल स्काउटले काठमाडौं उपत्यकाका मुख्य स्थान तथा मानिसहरूको भिडभाड हुने ठाउँमा कम्तीमा ५० स्थानमा सेनिटाइजर स्टेशन राखिने भएको छ ।
कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै पछिल्लो समय विश्वभर फैलिएको कोरोनाको महामारी विरुद्ध नेपाल स्काउटले उपत्यकाका ५० स्थानमा हात धुने तथा स्यानिटाईजर स्टेशन राख्ने भएको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण चिकित्सकले पटकपटक हात धुन सुझाव दिइरहेका छन् ।
नेपाल स्काउट प्रधान कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति संयोजक लोकबहादुर भण्डारीले उपत्यकामा सञ्चालित ५० भन्दा बढी स्काउट टोलीलाई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन समेत दिएका छन् ।
उनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सरकारको निर्देशन भएकाले सोही बमोजिम जनताले सरकारलाई सहयोग गर्नुपर्ने बताए । विभिन्न कामले निस्कनेहरूका लागि भने कोरोना संक्रमणको जोखिमबाट बच्न त्यस्ता ठाउँमा हात धुने ठाउँ स्थापना गरिने भण्डारीले बताए ।
संयोजक भण्डारीका अनुसार उपत्यकाका ५० स्थान छनौट गरी ३ देखि ५ जनाको प्रशिक्षित स्वंसेवक टोलीले सम्भावित संक्रमणबाट बच्न सुरक्षित हात धुने तरिका, स्यानिटाइजरको प्रयोग, पर्चा वितरण लगायतका कार्य मार्फत आम जनतालाई कोरोना भाइरसबारे सचेत गराउने लक्ष्य लिएको छ । यो अभियान एक सातासम्म चल्ने उनले बताए ।