काठमाण्डौं/६ चैत्र– त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले चैत ७ गतेदेखि तय गरिएको स्नातक तथा स्नातकोत्तर तहका सबै तहको परीक्षा तथा विश्वविद्यालयका नियमित कक्षाहरू चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।
सरकारले विश्वविद्यालयका परीक्षासमेत बन्द गर्ने निर्णय गरे पनि विश्वविद्यालय स्वायत्त संस्था भएकाले आफ्नो निर्णय आफैँ गर्न पाउने अधिकार भएको र सोहीअनुरुप विश्वविद्यालयले कुनै पनि क्रियाकलाप चैत मसान्तसम्म नगर्ने निर्णय गरेको त्रिविका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले जानकारी दिए ।
त्रिविमा विभिन्न तह र संकायका परीक्षा सञ्चालन हुन लागिरहेको थियो । व्यवस्थापन संकायको स्नातकोत्तर तह दोस्रो र चौथो सेमेस्टरको जारी परीक्षा पनि यो निर्णयसँगै शुक्रबारदेखि स्थगित हुने भएको छ । दोस्रो सेमेस्टरको चैत ९ र चौथो ७ देखि हुने भनेर सार्वजनिक गरिएको परीक्षा–तालिका पनि यो निर्णयपछि रद्द भएको छ ।
त्रिवि कार्यकारी परिषद्को बैठकले चैत ७ गते बाट लागू हुने गरी चैत मसान्तसम्म विश्वविद्यालयका सबै तहका परीक्षा, नियमित पठनपाठन तथा विश्वविद्यालयमा हुने कार्यक्रमहरु बन्द गर्ने निर्देशन दिएको छ ।
चैत मसान्तसम्म दिइएको विदा भने अर्काे वर्षको हिउँदे र बर्खे विदामा मिलान गर्ने विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका नियमित प्रशासनिक कामहरु भने यथावत रहने भएका छन् ।