कालोबजारीविरूद्ध विद्यार्थी संगठनहरूले अनुगमन गर्ने

काठमाण्डौं/६ चैत्र– कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिसँगै बजारमा देखिएको कालोबजारी एवं कृत्रिम अभाव रोक्नका लागि विद्यार्थी संगठनहरूले अनुगमन गर्ने भएको छ ।
संसारभरि महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस सन्त्रासको कारण विभिन्न व्यापारी तथा व्यवसायिहरूले त्यसको मौका छोपी विभिन्न खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुमा कालोबजारी गर्दै आईरहेका छन् । यसैका विरूद्ध नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुका साथै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ, समाजवादी विद्यार्थी युनियनलगायत विद्यार्थी संगठनको मंगलबार काठमाडौंमा बसेको बैठकले बजार अनुगमन गर्ने निर्णय गरेको हो ।
सरकारले कोरोनाबाट बच्न र सतर्कता अपनाउन आग्रह गरेसँगै कालोबजारी बढेको हो । यस्तो संवेदनशील अवस्थामा मौका छोपेर व्यापारीहरूले अत्याश्यक वस्तु, औषधी, मास्क, एलपी ग्यास, चामल, दाल, चिनी, तेललगायतका सामग्रीमा मूल्यवृद्धि तथा कृत्रिम अभाव सिर्जना गरेपछि बजार अनुगमन गर्ने निर्णय गरेको विद्यार्थी नेताहरुले बताएका छन् ।
कोरोनाभाइरस संक्रमण फैलन सक्ने त्रासकाबीच बजारमा कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीहरूविरूद्ध विद्यार्थी संगठनहरूले एकजुट भई बजार अनुगमन गर्ने र दोषीहरूलाई कडा कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।