काठमाडौँ /१२ भदौं – पूर्वाञ्चल विश्वविद्यालय र नेपाल उद्योग परिसङ्घबिच सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । इण्ड्ष्ट्री–एकाडेमिया सम्बन्धलाई मजबुत बनाउन, रिसोर्सेसको आदानप्रदान गर्न तथा विद्यार्थीको इन्टर्नसिप तथा अभ्यासरत तालिमको व्यवस्था गर्ने उदेश्यले समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
पूर्वाञ्चल विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. बिजु कुमार थपलिया र नेपाल उद्योग परिसङ्घका तर्फबाट उपाध्यक्ष वीरेन्द्र पाण्डेले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । बजारको हालको माग तथा भविष्यमा आवश्यकता हुने जनशक्ति उत्पादन गर्ने, नयाँ नयाँ प्रविधिको अध्ययन अनुसन्धान गर्ने, ज्ञान हस्तान्तरण तथा तालिमका लागि सहकार्य गर्ने, उद्योग परिसङ्घले भौतिक पूर्वाधारको लागि सहयोग गर्ने र विद्यार्थीको इण्टर्नसिप तथा अभ्यासरत तालिमको व्यवस्थापन गर्ने पत्रमा उल्लेख छ ।
इन्जिनियरिङ तर्फ आठौँ सेमेष्टरमा गरिनुपर्ने तीन महिनाको इण्टर्नसिप र इन्जिनियरिङ बाहेकका अन्य कार्यक्रमहरूमा गर्नुपर्ने इण्टर्नसिपको लागि केन्द्रस्तरमा करिब ३ सय ५० ठूला उद्योगहरू सदस्य रहेको नेपाल उद्योग परिसंघसँग र विश्वविद्यालय बिचको सम्झौताले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहज हुने नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष वीरेन्द्र पाण्डेले बताए ।
विश्वविद्यालयका उपकुलपति बिजु कुमार थपलियाले सैद्धान्तिक ज्ञानको लागि कलेजहरूमा पर्याप्त पठनपाठन हुने, प्रयोगशाला अभ्यास पनि हुने, फिल्ड भिजिट पनि हुने तर एउटा कुशल मेनेजर बन्नको लागि फिल्डमै गएर काम गर्दा मात्रै बन्न सक्ने भएकोले पाठ्यक्रममा रहेको इन्टर्नसिपको व्यवस्था कार्यान्वयनको लागि सम्झौता गरिएको धारणा व्यक्त गरे ।
उनले भने “विश्वविद्यालयले जनशक्ति उत्पादन गरिरहेको छ, निजी क्षेत्रले आफूले चाहेजस्तो जनशक्ति नपाएको कारण त्यस्ता जनशक्ति पाउनको लागि करोडौँ रुपियाँ बिदेश पठाउनु परिरहेको छ, यो ग्याप परिपूर्तिको लागि यो सम्झौता कोसेढुंगा साबित हुने देखिन्छ । इण्टर्नसिप गर्दागर्दै कतिपय विद्यार्थीलाई रोजगार समेत मिल्न सक्ने देखिन्छ । यसबाट कामसँगै पढाइको अवधारणामा पनि मद्दत हुने देखिन्छ ।”
समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार नीलमणि पोख्रेल, अनुगमन विभाग प्रमुख प्रा.उत्तम रेग्मी, पियुक्यानका अध्यक्ष सुधीर गुरागाईं, महासचिव सुरेश के.सी. हिलसाइड कलेज अफ इन्जिनियरिङका प्रबन्ध संचालक गोपीकृष्ण न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।



