काठमाडौँ /१९ साउन – प्रतिनिधिसभा सदस्य सूर्य प्रसाद ढकालले शिक्षा समितिको छलफलमा आफूले दिएको अभिव्यक्ति प्रति आत्मआलोचित भएको स्पष्ट पारेका छन् । आफूले शिक्षा सुधार तथा शिक्षकहरूको पेसागत हकहित, सेवा सुविधा तथा संरक्षणको पक्षमा वकालत गदै आएको बताउँदै शिक्षा समितिमा दिएको अभिव्यक्ति प्रति आत्मआलोचित भएको स्पष्ट पारेका हुन ।
साथै उनले प्रेस विज्ञप्ति जारी गर्दै आगामी दिनमा शिक्षा सुधार तथा शिक्षकहरूको पेसागत हकहित, सेवा सुविधा तथा संरक्षणको पक्षमा सतिसाल बनेर उभिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ “मिति २०८१ साउन ७ गते शिक्षा विधेयक माथिको सैद्धान्तिक छलफलका क्रममा शिक्षा समितिमा विषय उठान गर्दा मैले बोलेको केही शब्दहरूले समग्र देशभरका शिक्षकहरूको आत्मसम्मानमा ठेस पुग्न गएको आशय प्राप्त हुन गएको महसुस भयो । उक्त शिक्षा समितिमा अभिव्यक्त भनाईहरू समस्त शिक्षक वर्गलाई अपमानित गर्ने नियत नभई यस्ता समस्या विद्यालयमा सिर्जना भएको अवस्थालाई समेत नयाँ शिक्षा ऐनले सम्बोधन गर्नुपर्छ भनने आशय मात्रै स्पष्ट पार्न चाहन्छु । मेरा भनाईले समस्त शिक्षक तथा गुरु वर्गको आत्मसम्मानमा ठेस पुग्न गएको भए आत्मआलोचित भएको ब्यहोरा सम्पूर्णमा अनुरोध गर्दछु ।”
ढकालले विद्यालय शिक्षा सम्बन्धी विधेयबारे शिक्षा समितिको सैद्धान्तिक छलफलमा विद्यालय शिक्षा सुधारका लागि लामो समयदेखि पढाई रहँदा पनि विद्यार्थी फेल हुन्छ भने त्यो विषयको शिक्षकको पाँच वर्षमा परीक्षा लिनुपर्ने धारणा राखेका थिए ।



