काठमाडौँ /७ साउन – समकक्षताको प्रमाणपत्र लिन घुस खुवाउन परेको भन्दै जनता समाजवादीका संसद वीरेन्द्र महतोले आरोप लगाएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छानबिन गर्ने भएको छ ।
महतोले पाठ्यक्रम विकास केन्द्रमा छोराको कक्षा ११ र १२ को सर्टिफिकेटको समकक्षता लिँदा कर्मचारीलाई ५ हजार घूस खुवाउनुपरेको गुनासो आइतवारको संसद बैठकमा गरेका थिए ।
उनले आरोप लगाएपछि पाठ्यक्रम विकास केन्द्रले उक्त शाखामा कार्यरत शाखा अधिकृत युद्धबहादुर सुवेदीलाइ जिम्मेवारीबाट हटाएको छ । उनले बिहान अनलाइन फारम भरेको ३ बजेसम्म भेरिफिकेसन र एप्प्रुभ नभएपछि ताकेता गर्दा अधिकृतले चिया खान गएर टारेकाले घूस खुवाउनुपरेको बताएका थिए । उनले बोलेका आधारमा केन्द्रले शाखा अधिकृत ज्ञवालीलाई के भएको हो भन्नेबजारे लिखित स्पष्टीकरण सोधेको छ ।
साथै यस घटनाको छानबिन गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सहसचिवको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिको संयोजक शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सहसचिव वसन्त कोइराला रहेका छन् भने विद्यालय प्रशासनका उपसचिव रामप्रसाद शर्मा र कानुन शाखाका शाखा अधिकृत पुष्प वाग्ले रहेका छन् ।
समितिलाई आरोपबारे के कसो भएको हो भन्नेबारे एक सातामा प्रतिवेदन बुझाउन समय तोकिएको मन्त्रालयले जनाएको छ ।



