रूपन्देही/७ साउन – रूपन्देहीको गजेडी माध्यमिक विद्यालयले नामलाई लिएर विद्यालयको बदनाम नगर्न आग्रह गरेको छ । वास्तविक तथ्यलाई नबुझी विद्यालयको नाममा आधारित भई सामाजिक सञ्जालमा विभिन्न बदनाम गरिएको भन्दै आग्रह गरेको हो ।
विद्यालयले विज्ञप्ति जारी गर्दै नामलाई लिएर सामाजिक सञ्जालमा विभिन्न व्यक्ति र फेसबुक पेजहरूले भ्रामक, कपोलकल्पित तथा अनर्गल प्रचार गरी विद्यालयको ऐतिहासिक छविमा प्रहार अनि बदनाम गर्न खोजिएको जनाएको छ ।
स्थानीय थारू भाषामा ’गजेडी’ को शाब्दिक अर्थ ’हात्तीको वासस्थान’ भन्ने बुझाई रहेको र शिक्षाप्रेमी बुद्धिजीवीहरूले साविक गजेडी गाउँबाट गजेडी स्कुलको नामाकरण भई सोहीअनुसार गजेडी गाउँपञ्चायत र बहुदलपछि गजेडी गा. वि. स. रहन गएको प्रस्ट पारेको छ ।
“नेपाली शब्दकोशका अनुसार ’गज’ को अर्थ ’हात्ती’ र ’गज’ आधार पदमा ’डी’ जोडिएर गजेडी शब्दको व्युत्पादन भएको मानिन्छ । वास्तविक र ऐतिहासिक तथ्यहरूलाई नबुझी आफ्नो अयोग्यतालाई प्रदर्शन गर्दै यस विद्यालयको नाममा आधारित भई सामाजिक सञ्जालमा विभिन्न व्यक्ति र फेसबुक पेजहरूले भ्रामक, कपोलकल्पित तथा अनर्गल प्रचार गरी विद्यालयको ऐतिहासिक छविमा प्रहार अनि बदनाम गर्न खोजिएको विषयप्रति सिङ्गो विद्यालय परिवार घोर भर्त्सना गर्दछ ” विज्ञप्तिमा उल्लेख छ ।
साथै कहीँ कतैबाट कोही कसैले यस प्रकारका आपत्तिजनक क्रियाकलाप गरेमा विद्यालय प्रशासन साइबर कानुन अनुसार कारबाही गर्नका लागि सम्बन्धित निकायमा जाने चेतावनी दिएको छ ।



