काठमाडौं/७ साउन – प्रोफेसनल एजुकेटर्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच लगानी सम्झौता भएको छ । संस्थागत विकासको वृहत्तर अवधारणाअनुरूप इक्विटी लगानी सम्झौता भएको हो ।
आइतबार होटल रोयल सिंङ्गी काठमाडौंमा गरिएको सम्झौता अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रोफेसनल एजुकेटर्स लिमिटेडमा रु ७३ करोड ७२ लाख ८९ हजार ६ सय लगानी गरी ३५.३२ प्रतिशत स्वामित्व र युनिग्लोब हायर सेकेण्डरी स्कुलमा रु ६० करोड लागनी गरेर ४७.६२ प्रतिशत स्वामित्व प्राप्त गर्ने भएको छ ।
प्रोफेसनल एजुकेटर्स लिमिटेडका अध्यक्ष डा. खगेन्द्रप्रसाद ओझा, नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष गोविन्दलाल सङ्घाई, वरिष्ठ सञ्चालक तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल तथा दुवै प्रतिष्ठित कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृतहरू, वरिष्ठ अधिकृतहरू, चार्टर्ड एकाउन्टेन्टहरू तथा कानुनी सल्लाहकारहरू समेतको उपस्थितिमा आयोजना भएको विशेष समारोहमा प्रोफेसनल एजुकेटर्स लिमिटेडका तर्फबाट अध्यक्ष डा. खगेन्द्रप्रसाद ओझा र नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले इक्विटी लगानी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै शैक्षिक प्रवर्द्धनमुखी कदम र नयाँ प्रयोगका माध्यमबाट प्रोफेसनल एजुकेटर्स लिमिटेडले आफ्नो आगामी यात्राका क्रममा शिक्षा क्षेत्रको दिगो संस्थागत संरचना खडा गर्दै अगाडि बढ्ने लक्ष्य लिएको छ । यसका लागि कम्पनीले संस्थागत सुशासन र पारदर्शितामा अब्बल साबित गर्दै गुणस्तर कायम गर्न सबल र सक्षम भई विद्यार्थी वर्गको भविष्य सुनिश्चित हुनेछ । यस किसिमको पहलबाट कम्पनीको गरिमा स्वतः अभिवृद्धि हुन जाने भएकाले नेपालको शिक्षा क्षेत्रमा यस लगानी सम्झौताको सन्दर्भलाई शैक्षिक विकासको कोसेढुङ्गो मान्न सकिने प्रोफेसनल एजुकेटर्स लिमिटेड जनाएको छ ।
प्रोफेसनल एजुकेटर्स लिमिटेड अन्तर्गत ग्लोबल कलेज अफ म्यानेजमेन्ट, ग्लोबल स्कुल अफ साइन्स, युनिग्लोब स्कुल/कलेज, भ्याली भ्यु स्कुल, ग्लोबल कलेज इन्टरनेसनल र लिबर्टी कलेज जस्ता शैक्षिक संस्था सञ्चालनमा छन् ।
अत्याधुनिक भौतिक पूर्वाधार, प्रविधिमैत्री शैक्षिक वातावरण, दक्ष जनशक्ति, स्पष्ट एवम् पारदर्शी कार्यनीति र निरन्तर उत्कृष्ट नतिजा आदि विशेषताहरूलाई आत्मसात् गर्दै आएको प्रोफेसनल एजुकेटर्स लिमिटेडले निकट भविष्यमा नै सर्वसाधारणका लागि लगानीको अवसर प्रदान गर्ने गरी प्राथमिक सार्वजनिक निस्काशन (आईपीओ) जारी गर्न धितोपत्रको सूचीकरणसम्बन्धी प्रक्रियासमेत अगाडि बढाउने भएको छ ।