त्रिविमा नतिजा प्रकाशन भएको दुई सातामै मौका परीक्षा दिन पाउने

काठमाडौँ /६ साउन – त्रिभुवन विश्वविद्यालयले वार्षिक प्रणालीअन्तर्गत स्नातक तहको अन्तिम वर्षमा अनुर्त्तीण हुने विद्यार्थीलाई मौका दिन पाउने निर्णय गरेको छ । त्रिवि प्राज्ञिक परिषद्ले नतिजा प्रकाशन भएको दुई सातापछि मौका परीक्षा सञ्चालन गर्न पाउने निर्णय गरेको हो ।


सेमेस्टर प्रणालीमा ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था भएपनि वार्षिक प्रणालीअन्तर्गत स्नातक तहमा मौका परीक्षा दिन पाउने व्यवस्था यस अघि थिएन । अन्तिम वर्षमा कुनै पनि विषयमा अनुत्तीर्ण भए अर्को वर्ष मात्रै परीक्षा दिन पाउने व्यवस्था थियो । अब नतिजा प्रकाशन भएको दुई सातापछि दुई विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीले कौका परीक्षा दिन पाउने भएका छन् ।


परिषदको निर्णयसँगै विद्यार्थीले कुर्नुपर्ने एक वर्ष बचत हुने र यो निर्णय संकाय र अध्ययन संस्थानमा उक्त निर्णय लागू हुने त्रिविले जनाएको छ । स्नातक तहको पहिलो, दोस्रो, तेस्रो वर्षमा अनुत्तीर्ण भए चौथो वर्ष अध्ययन गर्दासम्म विद्यार्थीले अनुत्तीर्ण विषयमा परीक्षा दिन पाउनेछन् ।