अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा सहभागी हुन नेपाली टोली बेलायत

काठमाडौँ /२६ असार – अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा सहभागी हुन नेपाली टोली बेलायत पुगेको छ । ६५ औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा सहभागी हुन म्याथम्याटिक्स एसोसिएसन अफ नेपाल (म्यान)का महासचिव तथा निर्देशक सहितको टोलि बेलायत पुगेको हो ।


अन्तर्राष्ट्रिय गणित ओलम्पियाड आसर २६ गतेदेखी साउन ७ गतेसम्म बेलायतको बाथमा सम्पन्न हुँदै छ । सोही प्रतिस्पर्धामा सहभागिता जनाउन करिब ६० भन्दा बढी जिल्लाहरूबाट २ हजार भन्दा बढी विद्यार्थीहरूलाई विभिन्न चरणहरूबाट छनोट गरी तालिम दिइएको थियो । जसबाट उत्कृष्ट गर्ने ६ जना विद्यार्थीका साथै अन्य चार जना एसोसिएसनका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।


छनोट भएर बेलायत जाने विद्यार्थीहरूमा कृतेश ढकाल, श्रेयास शर्मा बाँस्तोला, सौगात ढकाल, राहुल भुजेल, द्रोण चौधरी र सम्पन्न भण्डारी रहेका छन् ।


म्याथम्याटिक्स एसोसिएसन अफ नेपाल (म्यान)का अध्यक्ष विनोद पन्तले अन्तर्राष्ट्रिय गणित ओलम्पियाडका लागि म्याथम्याटिक्स एसोसिएसन अफ नेपाल (म्यान)ले नेपालभरीका विद्यार्थीहरूमा प्रतिस्पर्धा गराएर ६ जना विद्यार्थीहरूलाई छनोट गरिएको बताए । संसारभरीबाट विद्यार्थीहरुको सहभागिता हुने यस प्रतिस्पर्धामा विद्यार्थीहरूले आफूले सिकेका ज्ञान र सिपलाई प्रस्तुत गर्ने अवसर पाउने बताए । नेपालले २०१७ देखि हरेक वर्ष सहभागी हुँदै आएको बताउँदै यसका लागि गणितमा काम गर्ने नेपालका संघ संस्था र नेपाल सरकारलाई आगामी दिनमा सहयोग गर्न आग्रह गरे ।


त्यसैगरी म्याथम्याटिक्स एसोसिएसन अफ नेपाल (म्यान)का सल्लाहकार प्रा.डा. बालचन्द्र लुइँटेलले अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा सहभागी विद्यार्थीहरूका लागि गणितीय प्रतिस्पर्धाको माध्यमबाट व्यक्तित्व विकास गर्ने अवसर भएको बताउँदै खोज तलासको विधिबाट गणितीय सिकाईको दिशा तर्फ लाग्नुपर्ने बताए ।