काठमाण्डौं/३ चैत– सरकारले उपत्यकाको बढ्दो सवारी चापलाई मध्यनजर गर्दै अबको नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि विद्यालय सञ्चालन गरी ३ बजे बन्द गर्ने नियम लागू गर्ने भएकाे छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्णयानुसार नयाँ शैक्षिक सत्रदेखि विद्यालय सञ्चालन बिहान ९ बजेदेखि ३ बजेसम्म लागू गर्न लागिएको हो ।
निजी तथा सरकारी सबै कार्यालयहरु प्रायः १० बजे खुल्ने र पाँच बजे बन्द हुने भएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सो नियम लागू गर्न लागेको हो । कार्यालय समय र विद्यालयको समय एकै हुँदा उपत्यकामा सवारी चाप र सवारी व्यवस्थापन गर्न समस्या भएपछि आगामी शैक्षिकसत्रदेखि नयाँ नियम लागू गरिने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका शैक्षिक व्यवस्थापन महाशाखा प्रमुख कृष्ण काफ्लेले बताए ।
यो निर्णय खासगरी निजी विद्यालय लक्षित छ । हाल सामान्यतया बिहान १० बजेदेखि ५ बजेसम्म निजी विद्यालय सञ्चालन हुँदै आएको छ । सार्वजनिक, सरकारी र निजी विद्यालयका गाडीहरूसमेत एउटै समयमा सडकमा निस्कदा घण्टौं जाम हुने समस्या छ ।
कार्यालय समय समान हुँदा सडकमा सवारी साधनको चाप बढ्ने र ट्राफिक जामको समस्या हुने निष्कर्षसहित विद्यालय समयमा हेरफेर गरी काठमाण्डौं उपत्यका र अन्य ठूला सहरमा विद्यालयहरू छिटो खोल्ने र छिटो बन्द गर्ने निष्कर्षमा पुगेको शिक्षा सचिव दाहालले जानकारी दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नयाँ निर्णय कार्यान्वयन गराउन शिक्षा मन्त्रालय र मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएको छ ।