नक्कली शैक्षिक प्रमाण पत्र पेश गरी जागिर खाने शिक्षक विरुद्ध मुद्दा

काठमाडौं/३ चैत–अख्तियार दुुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्र पेश गरी शिक्षक पेशमा कार्यरत एक जना प्रावि तहका शिक्षक विरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले श्री राम्चे आधारभूत विद्यालय मराङ, म्याग्दीका शिक्षक छोटेलाल ठाकुर विरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । उनले मध्यमा परीक्षाको नक्कली शैक्षिक प्रमाण पत्र पेश गरी शिक्षक पेशमा कार्यरत रहेको अख्तियारको भनाई छ । अख्तियारले उनको भारत स्थित श्री मोतिउर्रहमान संस्कृत प्राथमिक सह–माध्यमिक विद्यालयबाट मध्यमा तह पास गरेको शैक्षिक प्रमाण पत्र नक्कली रहेको जनाएको छ ।
नक्कली शैक्षिक प्रमाण पत्र पेशी गरी अस्थायी प्रावि शिक्षक पदमा नियुक्ति लिई सरकारी लाभ तथा सुविधासमेत लिएकाले उनी विरुद्ध भ्रष्टाचारको मुदा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।
साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको पुष्टि भएकाले ठाकुरलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आरोप-पत्र दायर गरिएको छ ।