काठमाण्डौं/३ चैत्र– नवलपरासी बर्दघाट नगरपालिका सुस्ता पूर्वका शिक्षा विकास तथा समन्वय एकाइले एसईई का परीक्षार्थीहरूका लागि सेनिटरी प्याड, डटपेन र मास्कको व्यवस्था गरिने भएको छ ।
परीक्षाका बेला विद्यार्थीलाई कुनै पनि किसिमको असहजता तथा मानसिक तनाव नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरेको एकाइले जनाएको छ । एकाइ प्रमुख कृष्णचन्द्र पोखरेलले परीक्षार्थीहरूलाई सहज वातावरण सिर्जना गर्न र परीक्षा केन्द्रलाई बालमैत्रीपूर्ण बनाउन न्यूनतम आवश्यकताका साधनहरू उपलब्ध गराउन लागिएको बताए । उनका अनुसार महिनावारी भएका छात्रालाई निःशुल्क प्याड, रुघा–खोकी लागेका विद्यार्थीलाई मास्क र लेख्दालेख्दै डटपेनको मसी सकिएमा वा बिग्रिएमा डटपेन उपलब्ध गराउने व्यवस्था गरिँदैछ ।
स्थानीय जागृति बाल तथा युवा सरोकार नेपालसँगको सहयोगमा एकाइले ४० हजार रकम बराबरको महिनावारी प्याड प्राप्त गरेको छ । त्यस्तै, पुस्तक तथा स्टेसनरी महासंघ नवलपुरबाट १५ हजार रकम बराबरको कलम र रोटरी क्लब कावासोतीबाट २० हजार रूपैयाँ बराबरको मास्क प्राप्त गरेको छ ।
सबै परीक्षार्थीलाई मास्क अनिवार्य गरिएको सो परीक्षामा परीक्षार्थीले यदि बिर्सिएको वा किन्न नसकेको अवस्थामा उनीहरूका लागि परीक्षा केन्द्रमा नै मास्क उपलब्ध गराउने एकाइ प्रमुख पोखरेले बताए ।
चैत ६ गतेबाट सञ्चालन हुने यस वर्षको प्रवेशिका परीक्षा (एसईई) परीक्षामा नवलपुर केन्द्रमा जम्मा २५ वटा परीक्षा केन्द्र कायम गरिएको छ । सो क्षेत्रमा नियमिततर्फका ६ हजार ४ सय ६५ र एक्जामिटेडतर्फका ११० गरी कुल ६ हजार ५ सय ७५ जना परीक्षार्थीहरूको सहभागीता रहनेछन् ।