काठमाण्डौं/२ चैत्र– पर्वत जिल्ला विहादी गाँउपालिकामा रहेको नेपाल तारा मावि रानीपानीमा विद्यालयको वि.व्य.स बैठकमा जनप्रतिनिधिद्वारा प्रधानाध्यापकमाथि अभद्र व्यवहार भएको छ ।
विविध विषयमा छलफल भईरहेको बैठकमै आएर वडासदस्य धन बहादुर क्षेत्रीले आफूलाई बैठकमा छुट्टै नबोलाएको भन्दै प्रअ कुल प्रसाद पराजुलीमाथि अभद्र व्यवहार गरेका छन् ।
प्र.अ पराजुलीका अनुसार वडाध्यक्षले आफ्नो अध्यक्षतामा बैठक सञ्चालन हुनुपर्ने र अभिभावकहरुले जेष्ठ सदस्यको अध्यक्षतामा बैठक गर्नुपर्ने अडान राखेको थियो । लामो समयपछि भएको बैठकमा अध्यक्षता गर्न नपाउने भएपछि वडाध्यक्ष आफू नआएर अर्का वडासदस्य पठाएको थियो । पछि उनी आएर बैठकमा रिस पोख्दै अभद्र व्यवहार गरियो ।
त्यस्तै, सोही गाँउपालिका अन्तर्गतको आम्बारी माभ्यमिक विद्यालयमा कार्यरत शिक्षक कृष्ण ढकाललाई विद्यालय व्यवस्थापन समितीको गठन प्रक्रियाको विषयलाई लिएर बाटोमै कुटपिट गरेको छ । कुटपिटबाट शिक्षक ढकाल गम्भीर घाइते भएका छन् ।
छिमेकीको घर जाने क्रममा बाटो कुरेर बसेका सोही स्थानका गणेश पराजुली र विमल पराजुली नामक व्यक्तिहरूले मोटरसाइकल रोकी उनलाई अन्धाधुन्ध कुटपीट गरेको थियो ।
विव्यसमा दलगत प्रतिनिधित्वको कुरालाई लिएर शिक्षक माथि बाटो कुरेरै कुटपिट गरी गम्भिर घाइते बनाइएको छ । घटनापछि कुटपिट गर्ने विरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिइएको शिक्षक ढकालले जानकारी दिएका छन् ।
सोही ठाउँमा एकैचोटी शिक्षकहरू माथि भएको अभद्र व्यवहार तथा कुटपिटको घटना प्रति नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतले आपत्ति जनाएको छ ।
शनिवार संगठनका जिल्ला अध्यक्ष चिरञ्जिवी अधिकारी र सचिव सुरेन्द्र शर्मा गौतमले घटनाको घोर भत्र्सना गर्दै प्रेस विज्ञप्ति समेत जारी गरेको छ । शिक्षकमाथि जनप्रतिनिधि एवं अन्य व्यक्तिबाट भएको अभद्र व्यवहारको घोर निन्दा गर्दै संगठनका अध्यक्ष अधिकारीले शिक्षकमाथि भएको आक्रमणको छानविन गरि दोषी उपर कडा कारवाहीको माग गरेका छन् ।
अध्यक्ष अधिकारीले दोषीहरूलाई कडा कारवाही नगरिए सम्पूर्ण शिक्षकहरू कारवाहीको मागको लागि कुनै पनि परिस्थितिमा पछि नहट्ने चेतावनी समेत दिएका छन् ।