आज होली पर्व, सतर्क भएर खेलौं


काठमाडौं/२६ फागुन– आज हिन्दु संस्कृति अनुसार प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन होली पर्व मनाईंदैछ ।
असत्यमाथि सत्यको विजयको रुपमा होली पर्व मनाउन थालिएको हो । पहाडी भेगमा आज र तराई भेगमा भोलि होली पर्व मनाइन्छ । रंगहरुको पर्व होली मानिसहरुले एक अर्कालाई विभिन्न प्रकारका रंगहरुले रंगिन बनाउँछन् ।
हिजो राती होलीका दहन गरी आज बिहान पानीमा रंग घोलेर एक अर्कामाथि फल्ने चलन छ । यो पर्वमा सा–साना केटाकेटीदेखि लिएर बृद्धबृद्धा सबैले रमाईलो गर्छन् । फागुन शुक्ल अष्टमीको दिन काठमाडौंको बसन्तपुर दरबार र ललितपुरको कृष्णमन्दिर अगाडि चीर–विशेष रुपले सजाएको लिङ्गो गाडेपछि होली सुरु भएको मानिन्छ भने पूर्णिमाको राती उक्त लिङ्गोलाई ढालेर जलाएपछि होली समाप्त हुन्छ ।


तर, यसपालीको होलीमा पहिलाको जस्तो रौनक र उत्साह नहुने भएको छ । पछिल्लो समय विश्वमा देखिएको कोरोना भाइरसको प्रभाव होलीमा समेत परेको छ । विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना संक्रमणको उच्च जोखिममा रहेको बताए सँगै सरकारले यसपाली होली नमनाउन आग्रह गरेको छ । होलीमा मानिसहरुको ठूलो भिडभाड हुने र संक्रमणको सम्भावना बढेर जाने हुँदा होली नखेल्न सरकारले आग्रह गरेको हो । कोरोना संक्रमणको जोखिम चिसोमा बढी हुने र धेरै मानिस जमघट हुँदा सर्ने सम्भावना बढी भएकाले फागुनमा पानीका लोला हान्ने, पिचकारीले छ्याप्ने र ठूलो जमघटका साथ रङ दल्ने÷खेल्ने काम नगर्न आग्रह गरेको छ । त्यसैले, यस वर्ष होली खेल्दा विशेष सतर्कता अपनाउन आवश्यक छ ।