यसकारण भएको थियो नेपालमा लोक सेवा आयोगको स्थापना


काठमाडौं / २५ फाल्गुन – सामान्य बोलिचालीमा लोक सेवालाई नै सरकारी जागिर भनिन्छ । सरकारी जागिरका लागि बढी मेहेनत, अध्ययन र लगनशीलतका साथै विभिन्न चरण पार गर्नुपर्छ ती मध्ये एक हो, लिखित प्रतियोगिता परीक्षा । लोक सेवा अर्थात् लिखित प्रतियोगिता परीक्षा प्रचलनको सुुरुवात दोस्रो शताब्दीतिर सबैभन्दा पहिले चीनबाट भएको हो । चीनमा त्यतिबेला ६१८ ई. देखि ९०६ ई.का बीच तांग राजवंशहरूको शासन थियो ।
तांग राजबंशको पालादेखि नै सरकारी जागिरमा योग्यताको आधारमा उम्मेद्वारलाई चयन गर्नको लागि केन्द्रीकृत प्रतियोगिता परीक्षाको व्यवस्था गरिएको थियो । विभिन्न सरकारी ओहोदाहरूका लागि हुने ती प्रतियोगिताहरूको परीक्षा कयांै दिनसम्म पनि चलिरहन्थ्यो । अझ रोचक कुरा के थियोे भने, त्यस बेलाको परीक्षामा अहिले जस्तो उत्तर लेख्नका २–३ घण्टाको सीमित समय नभई परीक्षार्थीहरूका लागि दिनभरिको समय दिने गरिन्थ्यो भने परीक्षामा अनियमितता हुन दिइँदैनथ्यो । अत्यन्तै, कडाईका साथ परीक्षा सञ्चालन हुन्थियो । परीक्षामा कुनै भेदभाव गरिदैनथ्यो, सबैले समान रुपमा भाग लिन पाउँथे । परीक्षा लिइसकेपछि प्रत्येक उत्तर पुस्तिकाको प्रतिलिपि तयार गरिन्थ्यो । प्रतिलिपि तयार गर्दा परीक्षकले परीक्षार्थीलाई नचिनोस् र कुनै किसिमको पक्षपात नहोस् भनी अलग अलग व्यक्तिहरू राखी प्रतिलिपि जाँच्न लगाईंन्थ्यो । यसरी लिईएको परीक्षामा जुन परीक्षार्थीले सबैभन्दा बढी अंक ल्याउथे, त्यही व्यक्तिलाई नै सम्बन्धित पदका लागि योग्य व्यक्तिको रूपमा छनोट गरी तिनीहरूले ल्याएको अंकका आधारमा राम्रो र उच्च पदहरू दिइन्थ्यो । चीनमा त्यतिबेला सरकारी सेवाहरूमा लिखित प्रतियोगिता परीक्षामा प्राप्तांकका हिसाबले अगाडि हुनेहरूलाई चयन गरिन्थयो । तर, संसारका अन्य देशहरूमा भने त्यति बेला सत्तामा रहेका व्यक्तिहरूका नाता कुटुम्बहरुले मात्रै सरकारी जागीरमा प्राथमिकता पाउने गर्थे । पछि विस्तारै चीनले थालनी गरेको सरकारी सेवाको यस्तो प्रक्रिया अन्य देशले पनि सिक्दै गए ।
नेपालको सन्दर्भमा पनि स्थायी सरकारी जागिरका लागि लोक सेवा आयोगले लिने लिखित परीक्षा दिनुुपर्छ भने राम्रो अंक ल्याउने परीक्षार्थीले मात्र सरकारी जागिर पाउने व्यवस्था छ । २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ गते नेपाल पब्लिक सर्भिस कमिसनको नामबाट लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेद्वार छनोट गर्ने कार्य गर्दछ ।
नेपालको अन्तरीम संविधान, २०६३ बमोजिम लोकसेवा आयोगले निजामतीको नियुक्ति, सरुवा वा बढुवा गर्ने लगायत संविधानको अधीनमा रहि अन्य विभिन्न कार्यहरू गर्छ । आयोगले उम्मेद्वार छनोट प्रक्रियाका लागि वार्षिक कार्यतालिका तयार गर्दछ । सरकारी ओहोदाको सम्बन्धित निकायबाट रिक्त भएको पद पूर्ति गर्न माग गरेपछि अयोगले सम्बन्धित ऐन नियम अनुसार पद पूर्तिको लागि संख्या निर्धारण गर्ने गर्छ र साप्ताहिक रूपमा प्रत्येक बुधवार प्रकाशित हुने बुलेटिन र गोरखापत्र राष्ट्रिय दैनिकमा पदका लागि विज्ञापन प्रकाशन गर्छ । यसरी खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाको लागि विज्ञापन प्रकाशित भईसकेपछि आयोगका क्षेत्रीय निर्देशनालय, अञ्चल कार्यालय र काठमाण्डौ उपत्यका दरखास्त संकलन केन्द्रमा पदको दरखास्त लिइन्छ र दरखास्त छानविन गरी परीक्षार्थीलाई परीक्षामा सामेल हुन पाउने प्रवेश पत्र दिन्छ ।
निष्पक्षता र शुद्धताका लागि आयोगले छनोट प्रक्रियामा प्रश्नपत्र निर्माण, पाठ्यक्रम परिमार्जन, उत्तरपुस्तिका परीक्षण, लिखित परीक्षा र अन्तर्वार्तामा संलग्न व्यक्तिहरूलाई एक अर्काको काम कारवाहीका विषय थाहा पाउन नसक्ने प्रणाली अवलम्वन गरी नीति तयार गरी सोही अनुरूप लोक सेवा अर्थात् लिखित प्रतियोगिता परीक्षा सञ्चालन गरिन्छ । यसरी लिएको परीक्षाबाट नै सरकारी पदका लागि योग्य व्यक्ति छनोट गरिन्छ ।