काठमाण्डौं/२३ फागुन– काठमाडौंस्थित नयाँ बानेश्वरमा युनिग्लोव कलेजले आयोजना गरेको सातौँ अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको छ ।
विद्यार्थीहरूलाई अनुसन्धान र अन्वेषणमूलक शिक्षा प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको हो । पूर्वअर्थमन्त्री रामशरण महतले कार्यक्रमको उद्घाटन गर्दै अनुसन्धानको महत्व र युनिग्लोव कलेजले अनुसन्धानमूलक शिक्षण पद्धतिमा राम्रो भूमिका खेलेको बताए ।
सैद्धान्तिक र व्यवहारिक ज्ञानकासाथै विद्यार्थीहरूलाई खोज तथा अनुसन्धानमूलक शिक्षाको पनि आवश्यकता रहेको बताउँदै महतले नेपालको प्राचिनकालदेखि भारत र चीनसँग व्यापारको सुमधुर सम्बन्ध रहेकाले आधुनिक व्यापारमा नेपालले छिमेकी मुलुकसँग फाईदा लिन रणनैतिक भुमिका खेल्नु पर्ने कुरामा समेत जोड दिए ।
कार्यक्रममा बोल्दै विश्वविद्यालय अनुदान आयोगका प्रमुख प्राडा. भिमप्रसाद सुवेदीले अनुसन्धानमुलक शिक्षण पद्धतिमा जोड दिदै स्वदेशमा आयोजना गरिने यस्ता कार्यक्रमले अनुसन्धान र अन्वेषणको माध्यमबाट युवाहरुलाई स्वेदशमै उद्यमशिलता र रोजगारीको क्षेत्रमा आकर्षित गर्न सकिने र यस्ता कार्यक्रमको आयोजनाले कलेजप्रति विद्यार्थीको विश्वास र आकर्षण बढ्ने बताए ।
सो सम्मेलनमा प्रमुख प्राडा. राधेश्याम प्रधानले अर्थशास्त्र, वित्तीयशास्त्र, बजार व्यवस्थापन जस्ता विषयमा हुने नयाँ अनुसन्धान र अन्वेषणले शिक्षामा नयाँ आयाम थपिने बताए । अन्तर्राष्ट्रिय सम्मेलनले विद्यार्थीमा अनुसन्धानको ज्ञान तथा बौद्धिक क्षमतालाई अझ बढी तिखार्ने निर्देशक अनन्तराज घिमिरेले बताए ।
कार्यक्रममा कलेजका प्रिन्सिपल डा.नरबहादुर विष्टले आगन्तुकहरुलाई स्वागत गर्दै युनिग्लोव कलेजले शैक्षिक क्षेत्रसँगै आर्थिक र सामाजिक क्षेत्रमा परिवर्तनक लागि अनुसन्धानमूलक शिक्षण पद्धतिले महत्वपूर्ण भूमिका खेल्ने बताए । त्यसैगरि यो नेपालमै शैक्षिक क्षेत्रले गरेको सबैभन्दा ठुलो र ऐतिहासिक अन्तर्राष्ट्रिय सम्मेलन भएको सभापति डा.खगेन्द्र ओझाले बताए । कार्यक्रममा विभिन्न देशबाट आएका प्रतिनिधिहरूले भनाई राख्दै यस्ता कार्यक्रमले देश–विदेशको आपसी सम्बन्धलाई झन गाढा बनाउने विश्वास व्यक्त गरेका थिए ।
अमेरिका, मलेसिया, भारत लगायत ५ देशका प्रतिनिधिहरूले सहभागिता जनाएको सो कार्यक्रममा ४५ भन्दा बढी विदेशी र ९ सय भन्दाबढी स्वदेशी व्यक्तिहरूको उपस्थित रहेको छ । सो कार्यक्रममा १ सय ६० वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरिएको थियो ।