नवरात्रीको तेस्रो दिन : माता चन्द्रघण्टाको पूजा आराधना गरेर मनाइदै

काठमाडौँ/३० असोज – नवरात्रीको तेस्रो दिन आज माता चन्द्रघण्टाको पूजा आराधना गरेर मनाइदै छ ।


नवरात्रिमा नवदुर्गा भवानीको पूजा गर्ने चलन रहेको छ र त्यही चलन अनुसार आज चन्द्रघण्टा माताको पूजा गर्न बिहान देखि शक्तिपीठहरूमा भक्तजनको भीड लाग्ने गरेको छ । घटस्थापनाको दिनबाट सुरु हुने नवदुर्गा पूजाका अनुसार आज चन्द्रघण्टाको पूजा गरिन्छ ।


उनको पूजा गरेमा पृथ्वीलोक र परलोक दुवैको लागि कल्याणकारी रहने विश्वास रहेको छ । नवरात्रिको तेस्रो दिन पूजा गरिने यस देवीको निधारमा घण्टा आकारको चन्द्रमा भएको कारण उनलाई चन्द्रघण्टा देवी भनेर सम्बोधन गरिएको हो । चन्द्रघण्टा देवी निकै सभ्य, शान्त र सौम्य भएको पुराणमा व्याख्या गरिएको छ । त्यसैगरी माता पार्वतीले दुष्टको विनाश र सज्जनको रक्षा गर्न विभिन्न नौँ रूप लिएको मान्यता छ ।


नवरात्रिको हरेक दिन विभिन्न देवीहरूको पूजा गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्ड, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी , सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौं दिनमा सिद्धिदात्रीको पूजा गरिन्छ ।