काठमाडौं/१९ फागुन– उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुले तत्काल नो अब्जेकसन सर्टिफिकेट (एनओसी) नपाउने भएका छन् ।
शिक्षा मन्त्रालयका अनुसार विदेश जाने विद्यार्थीलाई एकदुुई दिनका लागि एनओसी रोक्का गरिएको छ । शिक्षा मन्त्रालयका स्वकिय सचिव पुरन केसीले नेपालबाट उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुलाई कुन कुन देशका लागि एनओसी दिने/नदिने भन्ने विषयमा प्रतिवेदन तयार गर्न लागेको खबर एजुकेशनलाई जानकारी दिए । संक्रमित देशहरुको सूची तयार पारी कुन कुन देशका लागि एनओसी दिने/नदिने भन्ने विषयमा मन्त्रालयले प्रतिवेदन तयारी गरिरहेको उनको भनाई छ । दुुई दिनमा प्रतिवेदन तयार गरी क्याबिनेटबाट प्रमाणित भएपछि मात्र कुन कुन देशमा जान पाउने/नपाउने भन्ने विषयको टुंगो लाग्ने उनले बताए ।
आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई एनओसी नदिने निर्णय गरेको थियो । कोरोना भाइरसको संक्रमण विश्वका धेरै देशमा फैलिएपछि मन्त्रिपरिषदले विद्यार्थीलाई एनओसी नदिने निर्णय गरेको हो ।