काठमाडौं/१४ फागुन–नेत्रविक्रम चन्द नेतृत्वको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले आह्वान गरेको शैक्षिक हड्तालका कारण आज शिक्षण संस्थाहरु प्रभावित भएका छन् ।
आफ्ना नेता कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाइएको भन्दै उनीहरुले एकदिने शैक्षिक हड्तालको आह्वान गरेका हुन् । शैक्षिक हड्तालका कारण आज बिहानैदेखि पठनपाठन प्रभावित हुनुका साथै अधिकाशं शिक्षण संस्थाहरु बन्द छन् ।
चन्द नेतृत्वको विद्यार्थी संगठनले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै शैक्षिक हड्तालको आह्वान गरेको हो । फागुन १ गते जनयुद्ध दिवस मनाउने तयारी गरिरहेका बेला काठमाडौंबाट क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढकाल र कोषाध्यक्ष नरेन्द्र विकलाई लगायत विभिन्न जिल्लाका विद्यार्थी नेताहरुलाई झुठो मुद्दा लगाएर हिरासतमा राखिएको भन्दै स–सम्मान रिहाइको माग गर्दै उनीहरुले शैक्षिक हड्ताल गरेका हुन् ।
उनीहरुले आह्वान गरेको शैक्षिक हड्तालको मारमा विद्यार्थीहरु परेका छन् । राजनीतिक कारण गरिएको शैक्षिक हड्तालले विद्यार्थीहरु समस्यामा परेका हुन् । विद्यालय क्षेत्रलाई शान्ति क्षेत्र भनि घोषणा गरेपनि आफ्ना मागहरु पूरा गर्नका लागि शैक्षिक संस्थालाई केन्द्र बनाउने परिपाटी भने अझै अन्त्य हुन सकेको छैन । माध्यमिक तह (कक्षा १०) को एसईई परीक्षा नजिकै आउँदै गर्नुका साथै अन्य कक्षाको समेत अन्तिम परीक्षा नजिकिदैं गरेको अवस्थामा यसरी शैक्षिक हड्ताल गर्नु कतिको जायज होला ? भविष्यका कर्णधार अनि भविष्यमा देश निमार्ण गर्ने यी बालबालिकाहरुले राष्ट्रबाट के सिकिरहेका छन् त ? आफ्ना मागहरु पूरा गराउनका लागि विद्यार्थीको भविष्यसँग खेल्नु कतिको उपयुक्त हुन्छ ? यसका बारेमा एकचोटि राम्रो सँग सोच्न आवश्यक छ ।