एसईईका विद्यार्थीले परीक्षाको अघिल्लो दिन गणितको तयारी गर्दा ध्यान दिनुपर्ने कुरा

काठमाडौं/१८ चैत-२०७३ सालमा बनेको विशिष्टिकरण तालिका अनुसार माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई)को यो अन्तिम परीक्षा हो । कक्षा १० को गणितलाई सय पुर्णाङ्ककको लिखित परीक्षामा समावेश गरिएको छ । तर विद्यार्थीहरुलाई गणित विषय भनेपछि पढ्न मन नगर्ने, गाह्रो विषयका रुपमा लिने गरेको पाइन्छ । यो मात्रै हैन समान्य कुरालाई शिक्षकहरुले बुझाउन नसक्दा र लेख्दा सहि लेख्ने बोल्दा गलत बोल्ने गर्नाले पनि विद्यार्थीहरु अलमलमा पर्ने र हेर्दा समान्य लाग्ने तर, परीक्षामा त्याही गल्ति दोहोराउनाले पनि गणितमा नम्बर कम आएको पाइन्छ । तसर्थ परीक्षामा गणित विषयको तयारी कसरि गर्ने र उत्तरपुस्तिकामा लेख्दा कसरि लेख्ने र के के कुरामा ध्यान दिनुपर्छ भन्ने सवालमा शिक्षा मन्त्रालय अन्तर्गत परीक्षा, पाठ्यक्रम, तालिम, ईआरआका विषयगत विज्ञ रहेका तथा एक सय भन्दा बढी पाठ्यसामाग्रीका लेखक रमेश प्रसाद अवस्थीले विद्यार्थीलाई एसईईमा गणित परीक्षाको अघिल्लो दिन कसरी पढ्ने सुझाब दिँदै विद्यार्थीले तीनकुरामा ध्यान दिन आवश्यक रहेको बताएका छन् । उनले दिएका सुझाब निम्न प्रकारका रहेका छन् ।

गणित विषयको उत्तरपुस्तिकामा लेख्दा परीक्षार्थीले ध्यान दिनुपर्ने कुरा


क) सिम्बोलहरु प्रष्ट हुनु पर्छ :
जस्तै र उस्तै देखिन्छन् यसलाई विद्यार्थीले प्रष्ट रुपमा बुझिनेगरि लेख्नुपर्छ ।


ख) कोष्ठको प्रयोग सही तरिकाले गर्नुपर्छ :
जस्तै मधिका निकाल्दा र चक्रिय व्याज निकाल्दा प्रयोग गरेको कोष्टमा गल्ती देखिन्छ । धरै विद्यार्थीले यसको प्रयोग गर्न नजान्दा नम्बर काटिने हुन्छ त्यसकारण यसको सही प्रयोग गर्न जरुरी छ ।


ग) विद्यार्थीले लेख्दा प्रश्न संख्या प्रष्टसँग लेख्नुपर्छ र एउटा प्रश्नको समाधान सकिएपछि अर्को प्रश्न सुरु हुँदा प्रश्न संख्या राम्रो देखिनेगरि लेख्नुपर्छ ।


घ) धेरै पेज थप्नेकुरा राम्रो होइन किनकी त्यसको व्यवस्थापन गर्न गाह्रो हुने र पेपर छुट्ने सम्भावना धेरै हुन्छ । आजभोलि शिक्षकहरुले धेरै कपि थप्न लगाउने र अनावश्यक लेख्न लगाउने गरेको पाइन्छ । यसले गर्दा कपि हराउने, चेक गर्नेले अल्छि गर्ने हुँदा विद्यार्थीले लेखाइलाई नियन्त्रण गर्न आवश्यक छ ।


ङ) अनावश्यक रुपमा उत्तरपुस्तिकामा धेरै लाइन तानेर समय खेर नफालौ । शिक्षकहरुले विद्यार्थीलाई उत्तरपुस्तिकाको चारैतिर लाइन तान्न लगाउने, प्रश्नको उत्तर लेखिसकेपछि दुईवटा लाइन तान्न लगाउने गरेको पाइन्छ तर, यसले विद्यार्थीको समय खेर गइरहेको हुन्छ त्यसकारण प्रष्ट बुझिनेगरी लेख्ने र प्रश्न संख्या उल्लेख गरेपछि लाइन तान्न आवश्यक छैन ।


परीक्षाको अघिल्लो दिन कसरी गणितको तयारी गर्ने


१. विशिष्टिकरण तालिकाको राम्रोसँग रिफ्लेक्सन गर्ने :


यसमा कुन पाठबाट कति प्रश्न सोध्ने लगाएत जाँचमा आउने सम्पूर्ण प्रश्नको आधार यही हुने भएकोले यसलाई राम्रोसँग बुझ्न आवश्यक छ । जस्तै २४ प्रश्न, ३७ टेष्ट आइटम हुन्छ । त्यसमा समुह क मा १ नम्बरको ६ वटा, समुह ख मा २ नम्बरको १७ वटा, समुह ग मा ४ नम्बरको १० वटा र समुह घ मा ५ नम्बरको ४ वटा रहेको हुन्छ । तसर्थ यसलाई विद्यार्थीले राम्रोसँग बुझ्न आवश्यक छ ।


२. चार तहको प्रश्नको तयारी गर्दा निम्न अनुसार गर्न आवश्यक छ ।


क) ज्ञान तहका लागि आफुले पढ्ने किताबको परिचयात्मक खण्ड पढ्ने र छलफल गर्ने । किताबको परिचयात्मक खण्ड बुझ्न सकियो भने प्रश्न हुबहु नसोधिए पनि विद्यार्थीलाई फरक पर्दैन ।


ख) बोध (बुझाई) तहका प्रश्नहरुको तयारी गर्दा पाठ्यपुस्तकमा दिइएका सम्पूर्ण उदाहरणहरु राम्रोसँग अध्ययन गर्ने । साथै विभिन्न सूत्रहरु सिद्धान्तहरु बुझेर एउटै प्रश्न कम्तिमा आफैलाई समाधान गर्ने प्रयास गर्ने ।


ग) प्रयोग तहका प्रश्नहरु समाधान गर्न गणितिय सूत्रहरु र सिद्धान्तहरु हाम्रो वरिपरी र घरमा, विद्यालयमा प्रयोग भएका सामाग्रीहरु के कसरी जोडिएका छन् सोच्ने । ज्यमितिमा दिईएको जानकारीका आधारमा चित्र बनाउने अभ्यास गर्ने नकी दिईएका चित्रहरुमा समय खेर नफाल्ने । चित्र बनाउँदा प्रष्ट र सहि तरिकाले बनाउने, बनाईसकेको चित्र फर्केर हेर्ने । शाब्दिक समस्यालाई टुक्रा टुक्रा गरेर पढ्ने र प्राप्त जानकारीलाई छोटकरीमा टिपोट गर्ने अनिमात्र समस्या समाधान गर्ने ।


घ) उच्च दक्षताका प्रश्नहरु समाधान गर्दा प्रश्नलाई कम्तिमा दुई पटक पढ्ने र आफुले कक्षा कोठामा सिकेको कुरासँग जोड्ने । जति आफुलाई आउँछ त्यती लेख्दै जाने र बाँकी रहेको कुरा अन्तीम सायमा पुरा गर्ने । यस्ता प्रश्नहरु हामीले जानेको ज्ञान र सिपलाई आफ्नो दैनिक जिवनसँग जोडेर सोधिएको हुन्छ । ज्यमितिको प्रश्न समाधान गर्दा चित्र बनाउने कुरालाई विशेष ध्यान दिने र प्रश्न समाधान गर्दा आफुले जानेका परिभाषा, सिद्धान्त र साध्यहरु मम्झेर मात्र लेख्ने ।


३. परीक्षाको अघिल्लो दिन धेरै किताब नपढ्ने :


परीक्षाको अघिल्लो दिनमा परीक्षार्थीले धरै किताब पढ्दा दिमागमा बोझ हुनगई पढेको कुरा दिमागबाट हराउन सक्छन र तनाव उत्पन्न हुन्छ । जसले गर्दा विषय वस्तु प्रति डर उत्पन्न हुन्छ । प्रश्न बैंक गर्दै नगर्ने मात्र पाठ्यपुस्तकको अभ्यास बाहेकको कुरा अध्ययन गर्ने ।


४. आफ्नै तरिकाले छोटो नोट बनाउने र परीक्षा हलमा उपस्थित हुनुभन्दा एक घण्टा अगाडी उक्त नोट पाँचदेखी दश मिनेटमा पढेर जाने ।


५. परीक्षाको अघिल्लो दिन लेख्ने र बोल्ने अभ्यास प्रसस्त गर्ने र कुनै पुस्तकबाट हुबहु सार्नेकाम पटक्कै नगर्ने ।


परीक्षार्थीले समग्रमा ख्याल गर्नुपर्ने कुरा


क) परीक्षाको अघिल्लो रात निद्रा पुग्नेगरी सुत्ने ।


ख) परीक्षा हलमा प्रवेश गर्नुपूर्व दिमागलाई रित्तो बनाउने जसले गर्दा जाँचमा लेख्दा सम्झिन सजिलो हुन्छ । डराउने बाँनी भएका विद्यार्थीलाई डर मुक्त गराउँछ ।


ग) परीक्षा हलमा प्रवेश गर्नुपूर्व कुनै पनि पुस्तक अधययन नगर्ने रर अरु साथीहरुले भनेका कुरा सामान्य रुपमा लिने ।


घ)परीक्षामा लेख्दा आफुलाई जुन प्रश्न पहिला आउँछ त्यही लेख्ने । यदी कुनै प्रश्नको उत्तर पुरा आएन भने जती आउँछ त्यतीकैमा छोड्ने र बाँकीको लागि केही ठाउँ छोडने तर, लेखेको कुरा काट्दै नकाट्ने ।


ङ) आफुले लेखिसकेको कुरा अन्तीम १० देखि १५ मिनेट पढ्नै पर्ने हुन्छ जसले गर्दा आफुले गरेको गल्तीहरु आफै थाहा हुन्छ र उक्त गल्ती सुधार गरी परीक्षामा राम्रो नतिजा ल्याउन सकिन्छ ।


च) उत्तरपुस्तिकाको टाउकोमा पृष्ट संख्या प्रष्टसँग बुझिनेगरी लेख्ने । जुनकुरा कपि थप्ने बित्तिकै लागु गर्ने । यसो गर्दा कपि हराउने, छुट्ने जस्ता कुरा हुने सम्भावना कम हुन्छ ।