काठमाडौं/१६ चैत-भोलीदेखी कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)सुरु हुँदैछ । विद्यार्थीहरु पूर्ण तयारीमा रहेपनि हरेक विषय कस्तो हुने हो भन्ने तनाव हुन्छ नै । कतिपय विद्यार्थीमा परीक्षा हलभित्र गईसकेपछि मूल उत्तरपुस्तिकामा भर्नुपर्ने विवरणहरु कसरी भर्ने भन्ने अलमल पनि हुन सक्छ । यसका लागि विद्यार्थीले विवरण भर्नु भन्दा पहिला उत्तर पुस्तिकामा रहेको परीक्षार्थीलाई दिइएको निर्देशन पढ्न आवश्यक छ । परीक्षार्थीले मूल उत्तरपुस्तिकामा विवरण भर्दा ध्यान दिनुपर्ने कुराहरु यस प्रकार छन् ।
१) परीक्षार्थीले आफ्नो सिम्बोल नम्बर अङ्क र अक्षरमा प्रष्ट रुपमा लेख्नुपर्छ ।
२) उत्तर पुस्तिकाको विषयमा जुन विषयको परीक्षा दिने हो त्यही विषय लेख्नुपर्छ ।
३) उत्तरपुस्तिकाको पत्र लेखिएको ठाउँमा उल्लेख नगर्दा पनि हुन्छ । यदि गर्नेपरे अनिवार्य वा ऐच्छिक प्रथम र ऐच्छिक दितृय मध्ये कुन विषयको परीक्षा दिने हो त्यही लेख्नुपर्छ ।
४)भाषाको माध्यममा कुन भाषको परीक्षा छ वा कुन भाषामा लेख्ने हो त्यही भाषा उल्लेख गर्नुपर्छ ।
५) परक्षार्थीले हाजिरी फाराम भर्दा मूल उत्तरपुस्तिकाको माथीपट्टी लेखिएको उत्तरपुस्तिका नम्बर प्रष्ट रुपमा अनिवार्य लेख्नुपर्छ । यसरी लेख्दा उत्तरपुस्तिका हराउँने सम्भावना कम हुन्छ भने नतिजा स्थगित भएको अवस्थामा, पुनर्योग गर्दा उत्तरपुस्तिका खोज्न सहज हुन्छ ।
६) कुनै विषयमा खेस्रा आदि गर्नु परेमा यही उत्तरपुस्तिकामा गर्नुपर्छ । खेस्रा गरिएको विषयवस्तु केरिएको हुनुपर्छ तर च्यात्नु हुँदैन ।
७) उत्तरपुस्तिकामा एकै रङको मसी प्रयोग गर्नुपर्दछ । मसी फरक परेमा निरीक्षकको हस्ताक्षर गराउनु पर्दछ ।