काठमाडौं/९ फागुन– अब शिक्षक अभाव भएका विद्यालयमा स्वयम् सेवक शिक्षक राखिने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिनौं आफ्नो माटो, बनाऔं आफ्नै देश’ अभियान मार्फत स्नातक वा स्नातकोत्तर उत्तीर्ण गरेका युवालाई शिक्षक अभाव भएका विद्यालयमा स्वयम् सेवक शिक्षकका रुपमा खटाउने भएको हो । माघ २९ गतेको मन्त्री परिषद्ले शिक्षण स्वय्सेवक कार्यविधि, २०७६ पारित गरेसँगै उक्त कार्यक्रम लागू गर्न लागिएको हो । कार्यविधि अनुसार अनुसार अंग्रेजी, गणित र विज्ञान विषयका लागि स्वयम् सेवक शिक्षक खटाइने भएको छ । सामुदायिक विद्यालयका अनिवार्य तीन विषय तथा प्राविधि धारको शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो ।
विषयगत शिक्षक अभाव भएका सामुदायिक विद्यालय र प्राविधिक धार सञ्चालन भएका विद्यालयमा स्वयम् सेवक शिक्षकले शिक्षण गर्न पाउने कार्यविधिमा उल्लेख गरिएको छ । स्वयम् सेवक शिक्षकले साप्ताहिक २४ घण्टी पढाउनु पर्ने व्यवस्था कार्यविधिमा गरिएको छ भने सेवक शिक्षकको अन्य विद्यालयमा सरुवा नहुने भनिएको छ । कार्यविधि अनुसार स्वयम् सेवक शिक्षक नियुक्तिका लागि इकाइ, स्थानीय तह र विद्यालयको छुट्टा छुट्टै भूमिका हुने उल्लेख छ ।
स्वयम् सेवक शिक्षक परिचालनका लागि केन्द्रीय स्तरमा ‘शिक्षण स्वयम् सेवक तथा परिचालन’ समिति गठन गरिने भएको छ । उक्त समितिको संयोजक मन्त्रालयको सचिव हुने कार्यविधिमा व्यवस्था गरिएको छ । केन्द्रले प्रदान गरेको शिक्षक दरबन्दीका आधारमा शिक्षक अभाव भएका विद्यालयमा स्वयम् सेवक शिक्षकले शिक्षण गर्न पाउने छन् ।
बैशाख २० गते बसेको संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रस्तुत सरकारको नीति थता कार्यक्रममा ‘चिनौं आफ्नो माटो, बनाऔं आफ्नै देश’ अभियान सञ्चालन गरी स्नातक युवाहरुलाई फेलोसिप सहित परिचालन गर्ने कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि तयार गरिएको हो ।
हेर्नुहाेस् यस्ताे छ कार्यविधि
https://www.doe.gov.np/assets/uploads/files/361f30d21269c387a3307295960a9dab.pdf