काठमाण्डौं/९ फागुन– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डोटी जिल्लाको लानास्थित केदारेश्वर उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर बोहरा विरुद्ध मुद्दा दायर गरेको छ ।
भवन निर्माण तथा छात्रवृत्तिको रकम हिनामिना गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।
अध्यक्ष बोहराले साविक जिल्ला शिक्षा कार्यालय डोटीले निकासा गरेको रकम र विद्यालय आन्तरिक स्रोतको गरी ४१ लाख ५४ हजार ५ सय रकम बराबरको पेश्की लिएर ३१ लाख ९ हजार ९ सय पंैतालिस रकम बराबरको मात्रै कार्य गरेको उजुरीमा उल्लेख छ । स्थलगत निरीक्षण क्रममा गरिएको मूल्याङ्कनबाट ३१ लाख १६ हजार छप्पन्न रकम कार्यमा खर्च भएको विवरण देखाई विद्यालयको खातामा जम्मा ३ लाख ८ हजार पाँच सय रूपैयां मात्र जम्मा गरी बाँकी ७ लाख २९ हजार ९ सय ४६ रकम हिनामिना गरेको देखिन्छ ।
अध्यक्ष बोहराले सो रकम हिनामिना गरेको सप्रमाण पुष्टि हुन आएकाले अख्तियारले उनीविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिमकोको सजाय र हिनामिना गरेको सबै बिगो रकम असुलउपरको मागदाबी गर्दै काठमाडौंको विशेष अदालतमा आरोपपत्रसहित मुद्दा दायर गरेकोे छ ।