काठमाडौं/२६ भदौं-अहिले नेपाल शिक्षक महासंघ राष्ट्रिय महाधिवेशनको तयारीमा जुटिरहेको छ । महाधिवेशनकै लागि भनेर महासंघले साउन ६ गते नै सबै पालिका, जिल्ला र प्रदेश तहका समितिहरु र सबै आवद्ध संस्थाका पालिका, जिल्ला तथा प्रदेश तहका समितिहरुलाई सदस्य सूची र शुल्क साउन ३१ गतेभित्र समावेश गर्न निर्देशन समेत दिइसकेको छ ।
तर अहिले सम्म केही घटक संगठनहरुले अझै देशभरीको सदस्यता पेश नगरीसकेको कारणले सदस्यता सार्वजनिक गर्न महासंघले सकेको छैन । महासंघ अहिले जिल्ला अधिवेशन नभएपनि सदस्यता संख्या सार्वजनिक गर्ने तयारीमा जुटेको छ ।
संस्थागत सदस्यता अविलम्ब प्राप्तगरी पालिकागत, जिल्लागत सदस्यता सार्वजनिक गर्न महासंघ प्रयत्नरत रहेको हो । महासंघले सदस्यता सार्वजनिक गरिसकेपछि संस्थाले पेश गरेका सदस्यहरु संख्या अनुसार संस्थाको स्थान निर्धारण हुने र सोही अनुसार स्वतः पद सोपान हुनेछ ।
संस्थागत सदस्यता संख्या अनुसार सामानुपातिक रुपमा प्रदेश र केन्द्रको अधिवेशनका लागि प्रतिनिधि छनोट हुने र तिनै प्रतिनिधिबाट महासंघको अधिवेशन वा महाधिवेशन हुनेछ । प्रतिनिधिको सूची पठाई सकेपछी परिवर्तन नहुने पनि महासंघले जानकारी गराई सकेकोछ ।
असोजको ४ र ५ गते हुने महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा बाट असोज ४ गते उद्घाटन गरीने छ भने ५ गते आन्तरिक प्रतिवेदन र पद स्वपान गरेर नयाँ कार्यसमिति चयन गर्ने योजनामा महासंघ रहेको छ ।
अबको अध्यक्ष र महासचिव को होला ?
नेपाल शिक्षक महासंघमा मुख्य कार्यकारी पदमा आलोपालेको वैधानिक प्रबन्ध नभएपनि तदर्थ समितिबाटै नेपाल शिक्षक संघ र नेपाल राष्ट्रिय शिक्षक संगठनले अध्यक्ष र महासचिव पदमा आलोपालो गर्दै आएकाछन् । सो अभ्यास अनुसार अब हुने महाधिवेशनमा नेपाल शिक्षक संघबाट अध्यक्ष र नेपाल राष्ट्रिय शिक्षक संगठनबाट महासचिव पदमा रहने निश्चित जस्तै छ ।
नेपाल शिक्षक महासंघको गठित तदर्थ समितिमा नेपाल शिक्षक संघका तर्फबाट अध्यक्षमा केशव निरौला नेपाल राष्ट्रिय शिक्षक संगठनबाट महासचिवमा तिलक कुँवर भएका थिए । त्यसपछि पहिलो महाधिवेशनबाट नेपाल राष्ट्रिय शिक्षक संगठनबाट अध्यक्ष र नेपाल शिक्षक संघबाट महासचिव पद बाडफाड भएको थियो । यसक्रमलाई हुर्ने हो भने दोस्रो महाधिवेशनमा संघलाई अध्यक्ष र संगठनलाई महासचिव पर्ने देखिन्छ ।
नेपाल शिक्षक संघलाई प्राप्त हुने अध्यक्ष पदमा महासंघका वर्तमान महासचिव लक्ष्मीकिशोर सुवेदी र संघका वर्तमान अध्यक्ष राजेन्द्रराज पौडेलको प्रतिस्पर्धा रहेको देखिन्छ । सार्वजनिक रुपमा घोषणा नगरे पनि उनीहरु आन्तरिक छलफलमा कस्सिएरै लागेका छन् । विश्वास सुत्रका अनुसार संघ भित्र रहेका नेतृत्व तहका केही व्याक्तिहरुसँग कुरा गर्दा महासंघका वर्तमान महासचिव जाँदा उपयुक्त हुने र काम गर्ने समय पनि रहेको बताएका छन् । यता केही समुहले पनि संघका वर्तमान अध्यक्ष नै जानुपर्ने काम गर्न दिनुपर्ने बताउँदै आएका छन् ।
नेपाल शिक्षक संघको आउँदै गरेको महाधिवेशनलाई भने अर्थपूर्ण तरीकाले हेरिएको छ । अघिल्लो वर्ष हुनुपर्ने महाधिवेशनलाई कोभिडको कारण आगामी चैत्रभित्र सम्पन्न गर्नुगरी एक वर्षका लागि महाधिवेशन सारिएको छ । त्यसकारण पनि संघको महाधिवेशनले नेपाल शिक्षक महासंघको महाधिवेशनमा प्रभाव पर्ने निश्चित जस्तै छ ।
त्यसैगरी नेपाल राष्ट्रिय शिक्षक संगठनको भागमा पर्ने महासचिव पदमा कर्णाली प्रदेशका प्रदेश महासंघ अध्यक्ष देवेन्द्र अधिकारी, तुला बहादुर थापा, सुरेन्द्र घिमिरे लगायतको नाम चर्चामा रहेको छ । यसबारे संगठनले कुनै आधिकारीक निर्णय र घोषणा भने गरिसकेको छैन । तर यसबारेमा नेपाल राष्ट्रिय शिक्षक संगठनमा आन्तरिक छलफल भइरहेको स्रोतले जनाएको छ ।



