काठमाडौं/१७ भदौं-त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले भारतका विभिन्न विश्वविद्यालयको समकक्षता स्थगन गरेको छ । विश्वविद्यालयबाट प्रदान गर्दै आएको भारतका विभिन्न विश्वविद्यालयको समकक्षता हाललाई स्थगन गरेको हो ।
त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय पाठ्यक्रम विकास केन्द्रले सिंघानियाँ विश्वविद्यालय, राजस्थान, भारत, मेवार विश्वविद्यालय, राजस्थान, भारत, साइनाथ विश्वविद्यालय, झारखण्ड, भारत र लभ्ली प्रोफेसनल विश्वविद्यालय, पञ्जाब, भारतबाट विभिन्न तहको शैक्षिक योग्यताको उपाधि लिइएकोमा हाललाई समकक्षता प्रदान गर्ने कार्य स्थगन गरेको जनाएको छ ।
कार्यकारी निर्देशक प्रा.डा.पारसनाथ यादवले हस्तास्क्षर गरेको सुचनामा विभिन्न तहको शैक्षिक योग्यताको उपाधि लिएका विद्यार्थीलाई केन्द्रबाट प्रदान गरिने समकक्षता हाललाई स्थगन गरिएको उल्लेख गरिएको छ ।
भारतका केही विश्वविद्यालयहरुले नक्कली सर्टिफिकेट बाँड्दै आएको, शैक्षिक गुणस्तरमा कुनै ध्यन नदिएको र समकक्षताका आधारमा त्रिभुवन विश्वविद्यालयको लोगोको गलत प्रयोग गर्दै विद्यार्थीलाई झुक्याउने र भर्ना गर्ने लगायतका गतिविधि गर्दै आइरहेको आरोप लाग्ने गरेको छ ।



