अर्थमन्त्रालय सहित वार्ता हुनुपर्ने अडानमा विद्यालय कर्मचारी

काठमाडौं /१६ भदौं-विद्यालय कर्मचारीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तलब सुविधासहित सेवा सुविधा दिन तयार भएपनि अर्थमन्त्रालयका प्रतिनिधिको उपस्थिति नहुँदा शुक्रबार अर्थमन्त्रालय सहित वार्ता बस्ने भएको छ ।


बुधबार सामुदायिक विद्यालय कर्मचारी परिषद्, शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिने सहमति भए पनि अर्थमन्त्रालयका प्रतिनिधि नहुँदा शुक्रबार फेरी वार्ता बस्ने भएको हो ।
शिक्षा मन्त्रालयले विद्यालय कर्मचारी सहायक (लेखापाल) लाई नायव सुब्बा सरह र विद्यालय सहयोगीहरुको लागि श्रेणी विहीन सरहको तलब दिने सहमति जुटे पनि अर्थमन्त्रालयले बजेट नदिए समस्या आउने भन्दै विद्यालय कर्मचारी परिषद्ले अर्थमन्त्रालय सहित वार्ता हुनुपर्ने अडान लिएको छ ।


शिक्षा मन्त्रालयसँग मात्रै वार्ता गरेर सम्झौता गर्दा विगतको जस्तै धोका हुने देखिएकोले अर्थमन्त्रालयका प्रतिनिधिसहित वार्ता गरी सहमति गरीनुपर्ने परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताए । उनले शुक्रबार सबै पक्षबीच वार्ता बस्ने तयारी भइरहेको छ समेत बताए । साथै अर्थमान्त्रालयका प्रतिनिधि वेगर आफुहरुले कुनै पनि सम्झौंता नगर्ने समेत तिवारीले बताए ।


परिषद्ले विद्यालय कर्मचारी सहायक (लेखापाल)हरुका लागि ३६ हजार ७३० रुपैयाँ, विद्यालय सहयोगीहरुका लागि २६ हजार २१० रुपैयाँको तलब ग्यारेन्टी गर्नुपर्ने, सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुलाई दरबन्दीमा समायोजन गरी स्थायी बनाउनुपर्ने लगायतका माग राखेर भदौ १ गतेदेखि आन्दोलन गरिरेको छ ।