काठमाडौं/१७ भदौं-झट्ट सुन्दा अध्यात्म भन्ने बित्तिकै लामो दाह्री, कपाल पाल्ने बाबा, दर्शन शास्त्र, परम सत्ता अनि असांसारिक विषय वस्तु भन्ने आम बुझाई छ । अहिलेको युवा पुस्ताहरूले त झन् अध्यात्म भन्ने बित्तिकै नाक खुम्च्याउने गरेको देखिन्छ । अझ कतिपयको बुझाइ त यस्तो छ कि अध्यात्म भनेको संसारमा असफल तथा दुखी मान्छेहरूको लागि मात्रै हो जो, संसारिक कर्मबाट भागेर असंसारको अनिश्चित यात्रातिर लाग्दछन् । तर, यथार्थ त्यस्तो हैन ।
बितेको हजार वर्षको काल खण्डलाइ हेर्ने हो भने १५ औँ शताब्दीसम्म चर्च÷मस्जिद÷मन्दिर, पादरी तथा पुरोहितहरू नै समग्र समाजको दिशा तथा गति निर्धारण गर्ने शक्ति थिए । धर्म ग्रन्थ ,चर्च, मन्दिर पादरी तथा पुरोहितले जे भन्यो त्यहि अन्तिम सत्य मानिन्थ्यो । जीवन र जगतलाई हेर्ने प्रचलित धार्मिक मान्यता विपरित सन् १५४३ मा पोल्याण्डका निकोलस कोपर्निकसले सुर्य स्थिर रहन्छ र पृथ्वीले यसलाई चक्कर लगाउछ भन्ने फरक सत्यको उद्घाटन गरे यहि सत्यलाई स्थापित गराउने प्रयास गर्दा रोमका वैज्ञानिक ग्यालिलियो ग्यालिली ६८ वर्षको बुढो उमेरमा जेल जानु पर्यो । यसरी सोर्हौ शताब्दीबाट धार्मिक अन्धविश्वास जगजगी भएको समाजमा विभिन्न चुनौतीका बाबजुद भौतिक विज्ञानले नयाँनयाँ सत्य स्थापित गर्न थाल्यो ।
एक्काईसौँ शताब्दीसम्म आइपुग्दा विज्ञानले चमत्कारिक विकास गरिसकेको छ । फलतः जीवन र जगतका प्रश्नहरूको उत्तर दिने एक मात्र अन्तिम सत्य विज्ञान मात्रै हो भन्ने स्थापित हुन खोज्दै छ । अघिल्लो पाँच सय वर्षमा हरेक प्रश्नको उत्तर धर्म ग्रन्थ अनि चर्च र पादरीबाट मात्रै खोज्ने समाज पछिल्लो पाँच सय वर्षमा आइपुग्दा हरेक प्रश्नको उत्तरको लागि विज्ञानको मात्रै सहारा लिने भएको छ यिसरी हेर्दा पहिले धर्म मार्फत सत्यको खोज गरिन्थ्यो भने अहिले विज्ञान मार्फत सत्यको खोज गरिन्छ । हाल विज्ञानको जगजगी भएको समाजमा वैज्ञानिकले मात्रै सबै कुराको स्पष्ट उत्तर दिन नसक्ने तथा धर्मले पनि दिन नसक्ने भए पछि अध्यात्मको महत्त्व झनै बढेको देखिन्छ ।
मन्दिर/मस्जिद/चर्चभित्र गरिने प्रार्थना धर्म हो भने आफैभित्र गरिने प्रार्थना अध्यात्म हो । भगवानको गुणगान/भक्तिभाव/कर्मकाण्डमार्फत इश्वरलाई खुसी पार्न खोज्नु धर्म हो भने भगवानको गुण/आचरण आफ्नो जीवनमा धारण गर्न खोज्नु अध्यात्म हो । धर्मले हरेक प्रश्नको उत्तर धर्म ग्रन्थ तथा पुरोहित/पादरीबाट प्राप्त गर्दछ भने अध्यात्मले प्रत्येक प्रश्नको उत्तर आफैभित्र खोज्नु पर्ने कुरा गर्दछ । सूचना प्रविधिको लगायतका कारणले हरेक मान्छेको सूचना प्रति पहुँच बढेको छ तर व्यक्तिले आफ्नो प्रश्नको उत्तर उक्त सुचनाहरूको महासागरमा कतै भेट्दैन यिसरी विज्ञान तथा धर्म दुवैले मान्छेको मनमा उब्जने विविध प्रश्नहरूको उत्तर दिन नसक्ने भए पछि आफैभित्र उत्तर खोज्नको लागि अध्यात्मको सान्दर्भिकता झनै बढेको देखिन्छ ।
हरेक मान्छे संसारसँग जोडिएसँगै सूचनाप्रति व्यक्तिको पहुँच अस्वाभाविक ढङ्गले बढेको तर धेरै सूचनाहरू मध्ये सहि सूचना छान्नु अहिलेको पुस्ताको लागि सबै भन्दा ठुलो चुनौती हो । व्यक्तिको व्यक्तित्व निर्माणमा परिवार /समाज/राज्यले सम्प्रेषण गर्ने सूचनाको ठुलो भूमिका रहन्छ । राज्यले जस्तो सूचना सम्प्रेषण गर्यो त्यस्तै खालको व्यक्ति/समाज निर्माण हुने हो । ट्वीटर, फेसबुक, गुगल जस्ता सञ्जालहरुले आर्टिफिसियल इन्टेलिजेन्समार्फत हरेक व्यक्तिको आनीबानी तथा व्यवहार अध्ययन गरिरहेको हुन्छ र क्लिकबेटमार्फत व्यक्तित्व अनुकूलको सूचना सिफारिस गर्न थाल्दछ । जुन दिनदेखि यसरी सिफारिस गरेको सूचनाअनुसार व्यक्तिले व्यवहार गर्न थाल्दछ त्यस दिनदेखि मान्छे प्रविधिको दास हुन पुग्दछ ।
हामी अम्याजनमार्फत किताब पढिरहेका हुन्छौ तर अम्याजनले हामीलाई पढिरहेको हुन्छ यिसरी हेर्दा जस मेजोस, लरेन्स एडवार्ड पेज, ज्याक डोर्से तथा मार्क जुकेनबर्गले सिलिकन भ्यालीमा संसारभरिका मान्छेहरूको डाटा सङ्कलन गरेर पढिरहेका हुन्छन् । हामीलाई हरेक निर्णय आफैले गरेको जस्तो लाग्दछ तर कुन फिल्म हेर्ने, कहाँ घुम्न जाने, कुन किताब पढ्ने भन्ने कुराहरू समेत आर्टिफिसियल इन्टेलिजेन्सले दिएको सुझाब बमोजिम हामीले निर्णय गरेका हुन्छौँ । तसर्थ अबको बदलिदो परिवेशमा आफ्नो निर्णय आफैले गर्ने र सहि निस्कर्षमा पुग्नको लागि अध्यात्म विज्ञान हरेक घर तथा स्कुलदेखि नै अभ्यास गराउनु पर्ने देखिन्छ ।
भौतिक विज्ञानले हरेक प्रश्नको उत्तर बाहिर खोज्न सिकाउँछ । यसको ठिक उल्टो अध्यात्म विज्ञानले मनको शुद्धीकरण मार्फत आफैभित्र उत्तर खोज्न सिकाउने हुनाले सूचना प्रविधिको जगजगी भएको समाजमा यसको उपादेयता झनै धेरै देखिन्छ । अध्यात्मको पहिलो सिढी नै ‘म को हुँ ?’ भन्ने प्रश्न बाट शुरु हुन्छ । यो झट्ट सुन्दा अत्यन्तै साधारण प्रश्न जस्तो लागेता पनि निकै गहिरो विषय हो । ध्यानमार्फत शरीर, मन, विचार, बुद्धि, तर्कर भावलाई एक एक नियाल्दै जाँदा ‘म को हु ?’ भन्ने प्रश्नको उत्तर भेट्ने दिशामा अघि बढ्न सकिन्छ । हामी कहाँ ध्यान भन्ने बित्तिकै चमत्कारिक अनुभव, जादु, भगवान साक्षात्कार भन्ने रहस्यमयी कुराहरूको कथा बनाउने चलन छ । यस्ता चमत्कारिक कुराहरूको अपेक्षा गरेर ध्यान गर्ने हो भने व्यक्तिले कैले पनि ‘म को हुँ ?’ भन्ने प्रश्नको उत्तर भेट्न सक्दैन तसर्थ अध्यात्मले ध्यानमार्फत सत्यलाई जस्ताको तस्तै हेर्न सिकाउछ ।
कुनै पनि देशको राजनीति, अर्थतन्त्र र संस्कृतिले उक्त देशको विकासको गति र दिशा निर्धारण गर्दछ । हामीले राजनीतिक व्यवस्था परिवर्तन गरेर संसारमै उन्नत मानिएको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यौ । राजनीतिक व्यवस्थाको हिसाबले यो भन्दा उन्नत व्यवस्थामा जाने विकल्प हामीसँग छैन रिाज्यको नीति तथा कार्यक्रम अनि राज्य संयन्त्रको चरित्रले आर्थिक व्यवस्थामा परिवर्तन ल्याउने हो । तर राजनीतिक नेतृत्व र राज्य संयन्त्रमा व्यापक सांस्कृतिक परिवर्तन नभएसम्म राजनीतिक परिवर्तनको केही अर्थ रहदैन ।
कुनै पनि देश आर्थिक रूपले संवृद्ध र सक्षम हुनको लागि स्थिर राजनीतिक व्यवस्था, सुशासन साथै इमान्दार र जवाफदेही राज्यसंयन्त्र चाहिन्छ । राजनीतिक सुसंस्कारले नै सुशासन, इमान्दार र जवाफदेही राज्यसंयन्त्र निर्माण गर्ने भएको हुँदा व्यक्तिको संस्कार परिवर्तनगरी सोच, आचरण, व्यवहार र जीवन शैलीमा फेरबदल ल्याउनको लागि अध्यात्म विज्ञानको निकै ठुलो महत्त्व देखिन्छ । व्यक्ति परिवर्तन हुने दुई वटा तरिका छन् पहिलोअरुले आफुलाई परिवर्तन गर्ने जसमा भयको ठुलो भूमिका हुन्छ । दोस्रो आफुले स्वयम् लाई परिवर्तन गर्ने जसलाई अध्यात्मिक विधि भनिन्छ । यसमा मनको शुद्धीकरणमार्फत आफु भित्रको दुर्गुणहरू एक–एक गरेर नियालिन्छ र गलत आदतको बन्धनबाट मुक्तिको प्रयास गरिन्छ । हरेक व्यक्ति आफैभित्र आदतको दास भइरहेको हुन्छ । तसर्थ यो बदलिदो समाजमा आफ्नो आदतको मालिक आफै हुनको लागि अध्यात्म विज्ञानको ठुलो भूमिका देखिन्छ ।
सन् १९९० मा सोभियत संघको पतन पछि संसारभरि नै पुँजीवादी राज्य व्यवस्था नै एक मात्र उन्नत सभ्यता मानिएको छ । पुँजीवादी अर्थव्यवस्थाको आँखामा संसार भरिका मान्छेहरू केवल उपभोक्ता हुन् । त्यसो हुँदा पुँजीवादी राज्यले धेरै भन्दा धेरै वस्तु तथा सेवाहरूको उपभोग गर्यो भने मात्रै मान्छे सफल, सुखी र खुसी हुन्छ भन्ने मान्यता मार्फत संसारभरि नै चरम उपभोगवादी संस्कार विकास गर्न खोज्दै छ । यसरी हेर्दा हामी नेपालीहरू पनि नजानिदो पाराले चरम उपभोगवादी संस्कारको दास भैसकेका छौँ । केही राजनीतिक/कर्मचारी नेतृत्व/धार्मिक गुरुहरू समेत यसबाट अछुतो नरहेको पाइएको छ ।
जुन सुकै तरिकाबाट भए पनि मैले उपल्लोस्तरकोसेवा/सुविधा उपभोग गर्नै पर्दछ रसेवा/सुविधाको अधिकतम उपभोग नै खुसीहुने अन्तिम समीकरण हो भन्ने मानसिकताको दास भैसके पछिदेशविकास भन्दा पनि व्यक्ति/आफु अनुकूलको समुह मात्रै विकास हुने सम्भावना देखिन्छ तिसर्थ अध्यात्म विज्ञानमार्फत उग्र उपभोगवादी संस्कारको जरा नकाटेसम्म देश विकास सम्भव छैन ।
विश्व बजारले आम मान्छेलाई उपभोगवादी संस्कार मार्फत आदतको सिकार बनाउँछ अनि त्यहि आदतमा टेकेर आफ्नो बजार विस्तार गर्दछ । यसरी बजारले हरेक मान्छेलाई उपभोक्ता बनाउन सफल हुन्छ । वस्तु तथा सेवाहरू उपभोग गर्ने चक्करमा नैतिकता र इमान्दिरता खरानी भएको मान्छेले थाहा नै पाउदैन । यसरी हरेक मान्छे नजानिदो पाराले आफैले निर्माण गरेको आदतको दास हुन पुग्दछ । अध्यात्म विज्ञानले आफ्नो आदतको मालिक बन्न सिकाउने भएको हुँदा विश्व बजारले स्थापना गरेको उपभोगवादी संस्कारबाट छुटकारा पाउन, सुखी, खुसी र असल हुन तथा सत्यलाई जस्ताको तस्तै हेर्न यसको निकै ठुलो भूमिका देखिन्छ ।
(लेखक किशोर भण्डारी, नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिक हुन् ।)



