विभिन्न देशमा ‘भिएसएन आल्मुनाई’ गठन गर्दै भिएस निकेतन कलेज

काठमाडौं /१३ साउन-भिएस निकेतन कलेजले विश्वभर छरिएर रहेका आफ्ना विद्यार्थीहरुलाई एक जुट गर्ने उदेश्यले विभिन्न देशमा आल्मुनाई गठन गर्ने भएको छ । केही वर्षमा आउँदै गरेको स्वर्ण जयन्तीलाई मध्यनजर गर्दे भिएस निकेतन कलेज अध्ययन पश्चात विश्वभर रहेका आफ्ना विद्यार्थीहरुलाई एक जुट गराउने भएको हो ।


अहिले विश्वका विभिन्न देशमा आल्मुनाई च्याप्टर गठन भइरहेको कलेजले जानकारी दिएको छ । त्यसै अन्तर्गत भर्खर मात्रै “अस्ट्रलिया भिएसएन आल्मुनाई” अस्ट्रलिया च्याप्टर गठन गरीएको छ । “अस्ट्रलिया भिएसएन आल्मुनाई” अस्ट्रलिया च्याप्टरको अध्यक्षमा आशिष केसी र उपाध्यक्षमा पुजन ढकाल चयन भएका छन् ।


कलेजका संस्थागत निर्देशक डा.बबिन पोखरेलले भिएस निकेतन कलेजमा अध्ययन गरेर विश्वभर छरिएर रहेका सबै विद्यार्थीहरु एकजुट गर्नका लागि विभिन्न देशमा आल्मुनाई गठन गरीएको बताए । अष्ट्रेलिया पछि छिटै नै अमेरीका, बेलायत, क्यानडा, इण्डिया र चिन लगायतका देशहरुमा भिएसएन आल्मुनाई च्याप्टर गठन गरीने उनले बताए ।


यसरी सम्भवत पहिलोपटक शैक्षिक संस्थाहरुबाट विदेशमा रहेका आफ्ना विद्यार्थीहरुका लागि एकजुट गराउने उदेश्यले आल्मुनाई गठन गर्ने पहिलो संस्था हो । सन् १९८१ मा खुलेको भिएस निकेतनले ४१ वर्षदेखि ‘सहुलियत शुल्कमा गुणात्मक शिक्षा’ भन्ने मूल मर्मका साथ उत्कृष्ट शिक्षा प्रदान गर्दै आइरहेको छ ।


देशकै उत्कृष्ट विद्यालयका रूपमा दुईपटक पुरस्कृत भइसकेको भिएसमा पूर्वप्राथमिक तहदेखि माध्यमिक हुँदै स्नातक तहसम्म अध्यापन हुने गर्छ । ‘प्लस टु’को विज्ञान र व्यवस्थापन दुवै संकायमा उत्कृष्ट नतिजा ल्याउँदै आएको विद्यालयमा विज्ञान संकायमा बायोलोजी, केमिस्ट्री, फिजिक्सलगायत विषयको अध्ययन–अध्यापन हुँदै आएको छ ।


भिएस निकेतनले विशाल पुस्तकालय, कम्प्युटर साइन्सको प्रयोगशाला, खेलकुदका लागि बास्केटबल, टेबल टेनिसको ग्राउन्ड मात्रै उपलब्ध गराएको छैन, विद्यार्थीको व्यक्तित्व विकासका लागि उनीहरूलाई शैक्षिक भ्रमण र विभिन्न प्रतियोगितामा समेत सहभागी गराउँदै आएको छ ।