वीर सपूतहरूको सम्झनामा आज मूलुकभर शहिद दिवस मनाईदै

काठमाण्डौंर/१६ माघ– देश र जनताको स्वतन्त्र हकहितका लागि आफ्नो जीवन बलिदान गरि वीरगति प्राप्त गरेका महान् शहिदप्रति सम्मान गर्दै आज मूलुकभर शहिद दिवस मनाइँदै छ ।

जहानियाँ राणा शासन तथा निरकुंश पञ्चायती व्यवस्था विरूद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा हरेक वर्ष माघ १६ गतेका दिन शहिद दिवस मनाउंदै आएको छ ।

आजको दिन विशेषगरी चार वीर सपूतहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको योगदानको स्मरण गरिन्छ । वीर शहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संर्घषमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अन्य वीर तथा योद्धाहरूको योगदानको सम्झना स्वरूप शहिद दिवस मनाउन थालिएको हो ।

देशका विभिन्न समयमा भएका आन्दोलनमा होमिएर देश र जनताका लागि हाँसीहाँसी वीरगति प्राप्त गरेका शहिदको साहस र त्यागको स्मरणमा विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाको पहलमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहिद सप्ताह मनाईन्छ ।

वि.सं १९९७ माघ १० गते तानाशाही निरङ्कुश राणाशासनको विरूद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई राजनैतिक अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुण्ड्याएर हत्या गरिएको थियो । त्यसको दुई दिनपछि माघ १३ गते सिफलमा धर्मभक्तलाई झुण्ड्याएको थियो भने माघ १५ गते दशरथ चन्द र सोही दिन गङ्गालाललाई शोभाभगवतीमा गोली हानी राणाहरूले हत्या गरेका थिए ।

शहिद दिवसका अवसरमा आज बिहान रत्नपार्क, शान्तिबाटिकादेखि शहिद स्मारक लैनचौरसम्म प्रभात फेरी गरी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरिने छ ।