काठमाडौं /८ असार-चाबहिलस्थित सेन्ट लरेन्स कलेजका को–अर्डिनेटर र एक शिक्षक जेल चलान भएका छन् । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका अर्डिनेटर र एक शिक्षक पुर्पक्षका लागि जेल चलान भएका हुन् ।
मंगलबार जिल्ला अदालत काठमाडौंले शिक्षक काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ का ५१ वर्षीय राजन कुमार पौडेल र कलेजका को–अर्डिनेटर काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ घर भइ हाल काठमाडौं कागेश्वरी मनोहरा नगपालिका–८ बस्ने ४७ वर्षीय जनार्दन अधिकारीलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो ।
कलेजमा अध्ययनरत केही छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै उनीहरुविरुद्ध विद्यार्थी आन्दोलित भएका थिए । उनीहरुविरुद्ध पीडितका अभिभावकले प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए । उनीहरुलाई पुर्पक्षको लागि डिल्लीबजार कारागारमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



