काठमाडौं/१४ माघ–दरबन्दी पुनर्वितरण तथा शिक्षक व्यवस्थापनको कार्यबाट स्थानान्तरण भई आएका शिक्षकलाई विद्यालयमा हाजिर गराउने जिम्मेवारी विद्यालयको प्रधानाध्यपकलाई दिएको छ ।
शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि–२०७६ मा उक्त व्यवस्था गरिएको हो । स्थानान्तरण भई आएका शिक्षकलाई हाजिर गराउने र स्थानान्तरण भई जाने शिक्षकलाई रमाना दिने जिम्मेवारी सम्बन्धित विद्यालयको प्रअको हुने व्यवस्था कार्यविधिमा गरिएको छ ।
कार्यविधिमा दरबन्दी पुनर्वितरण गर्दा साविकमा रहेका प्राथमिक विद्यालय (कक्षा १ देखि ५ सम्म), निम्न माध्यमिक विद्यालय (कक्षा ६ देखि ८ सम्म), माध्यमिक विद्यालय (कक्षा ९ र १०) र उच्च माध्यमिक तह (कक्षा ११ र १२) लाई आधार मानेर पुनविर्तरण गर्ने उल्लेख गरिएको छ ।
कुनै विद्यालयमा माथिल्लो तहमा दरबन्दी अपुग भएको अवस्थामा तल्लो तहमा बढी भएको रहेछ भने सबै तहको शिक्षक दरबन्दी एकमुष्ठ गणना गरी नियमावली बमोजिम न्युनतम दरबन्दी सुनिश्चित गरी स्थानीय तहगत दरबन्दी मिलान गर्ने कार्यविधि जनाइएको छ ।
कार्यविधिमा विद्यालयको विद्यार्थी संख्याको अनुपातमा शिक्षक संख्या बढी भएको अवस्थामा कुनै कारणबाट दरबन्दी रिक्त हुन आएमा दरबन्दी मिलान कार्य सम्पन्न नभए सम्म त्यस्ता विद्यालयले रिक्त पदपूर्ति नगर्न भनिएको छ ।
दरबन्दी वितरण गर्दा सरकारले उपलब्ध गराएको प्रावि (महिला शिक्षा परियोजना समेत), निमावि, मावि र उच्च माविको दरबन्दी, राहत अनुदान कोटालाई समेत गणना गर्ने उल्लेख छ ।
त्यस्तै, शिक्षक आवश्यकताको पहिचान गर्दा स्थानीय तहमा वित्तीय हस्तान्तरण प्रयोजनका लागि जिल्ला शिक्षा समितिले विद्यालयमा बाँडफाँड गरेको दरबन्दीलाई आधार मानेर जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको देशैभरको प्रावि तहको बचत हुन आउने दरबन्दी, निमावि र मावि तहमा मिलान गर्ने कार्यविधिमा भनिएको छ ।
कार्यविधि तयार भएसँगै स्थानीय तह, पालिका, प्रदेश र जिल्लामा बढी भएका शिक्षकको पुनर्वितरण हुनेछ । कार्यविधिमा समय तोकेरै दरबन्दी पुनर्वितरण गर्ने उल्लेख गरिएको छ ।