पाठ्यक्रम प्रारुप हुबहु लागू भए आन्दोलनमा जाने गणित विज्ञको चेतावनी

काठमाडौं/१३ माघ–गणित विषयलाई पाठ्यक्रमको प्रारुपबाट हटाउन खोजिएको भन्दै गणित विषयका विज्ञहरुले आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
पाठ्यक्रम विकास केन्द्रले निर्माण गरेको नयाँ पाठ्यक्रममा गणित विषयलाई ओझेलमा पारेको भन्दै उनीहरुले विरोध जनाएका हुन् । गणित विज्ञहरुले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा गणित विषयलाई अनिवार्य गरिनुपर्ने माग गरेका छन् ।
उनीहरुले गणित विषयलाई पाठ्यक्रम प्रारुपमा समेट्नुपर्नेमा जोड दिएका छन् । पाठ्यक्रम विकास केन्द्र विषय समितिका अध्यक्ष प्रा.डा.राममान श्रेष्ठले आफूसँग कुनै परामर्श नगरी पाठ्यक्रमको प्रारुपको समितिमा विज्ञको रुपमा राखेको भन्दै आपत्ति जनाएका छन् । मलाई थाहै नदिइ समितिमा राखेको बताउँदै उनले भने,“प्रारुप आएपछि मात्र समितिमा रहेको थाहा पाए ।” पाठ्यक्रम निर्माणको बैठकमा आफूलाई कहिल्यैपनि नबोलाएको समेत उनको भनाई छ ।
त्रिविका गणित केन्द्रीय विभागका प्रमुख प्रा.डा. टंकनाथ धमलाले विज्ञान पढ्ने विद्यार्थीलाई गणित विषय अनिवार्य र अरु विषय पढ्ने विद्यार्थीलाई ऐच्छिक गर्नुपर्ने बताए । उनले स्कुलमा गणित विषयमा अनुत्तिर्ण भएको विवरण देखाउँदै कक्षा ११ र १२ मा गणित हटाउनु लज्जास्पद भएको बताए ।
भर्खरै सार्वजनिक भएको प्रारुपमा गणित तथा विज्ञानका विद्यालाई ओझेलमा पार्नु दुःखको विषय भएको नेपाल गणित समाजका सभापति प्रा.डा. चेतराज भट्टको भनाई छ । उनले दातृ संस्थाले दिएका अनुदानलाई हेरेर उत्तिर्ण प्रतिशत बढाउने गणित विषयलाई हटाइएको समेत दाबी गरे ।
यसैगरी, त्रिवि इन्जिनियरिङ संस्थानका सहायक डिन प्रा.डा. ज्ञानबहादुर थापाले इन्जिनियरिङ पढ्ने विद्यार्थीका लागि आवश्यक भएको तर्क दिए । उनका अनुसार त्रिविको अध्ययन संस्थानमा प्रवेश परीक्षामा गणितको भार ४० बाट ५० अंक बनाएको छ ।
स्कुल स्ट्रक्चरका संयोजक तथा नेपाल गणित समाजका केन्द्रीय सदस्य हरि प्रपन्न कँडेलले पाठ्यक्रम विकास केन्द्रले सार्वजनिक गरेको प्रारुप नै हुबहु लागु भएको आन्दोलनमा जाने चेतावनी दिएका हुन् । उनले पाठ्यक्रम तत्काल सच्याउनुपर्ने माग गर्दै जबर्जस्ती हुबहु लागु गरेमा देशमा आन्दोनलको ठूलो आँधीबहेरी आउने बताए । यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मा राज्यले लिनुपर्ने उनको भनाई छ ।

पाठ्यक्रम विकास केन्द्रले सार्वजनिक गरेको विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ मा कक्षा ११ र १२ मा गणित विषय हटाइएको छ ।