सेन्ट लरेन्स कलेजका शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित

काठमाडौं /१० जेठ-काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षक तथा कोअर्डिनेटर जनार्दन अधिकारीले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन् । कक्षा ११ र १२ पढ्ने धेरै छात्राहरुलाई यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका हुन् ।


कलेजका विद्यार्थीहरू आन्दोलित भए पछि प्रहरी परिसर वृत्त गौशालाले यौन दुर्व्यवहार गर्ने शिक्षक र पीडित विद्यार्थीहरुसँग बुझ्ने काम भइरहेको जनाएको छ । अहिले पनि विद्यार्थीहरुले प्रहरी परिसर वृत्त गौशाला अगाडी आन्दोलन गर्दै नाराबाजी गरीरहेका छन् । कलेजका एक विद्यार्थीका अनुसार ती शिक्षकले एक वार्षौ देखि धम्काएर किशोरीहरुलाई यौन दुर्व्यवहार गर्दै आएको बताएका छन् । उनले भने “यहाँ देखिएका तीन चार जना साथीहरुमात्र छन् तर त्यो सरले धेरैलाई यौन दुर्व्यवहार गरेको छ ।”


कलेजका कोर्डिनेटर रहेका अधिकारीले विद्यार्थीलाई आफुसँगै सुत्न भनेको त्यसो नगरे वा कसैलाई भने रेस्टिकेट गरीदिने धम्की दिएको बताएका छन् । साथै विद्यार्थी पछाडी हात लगाउने, संवेदनशील अंग छुने आरोप छ ।


विद्यार्थीहरुले नेकपा एमालेले शिक्षकलाई संरक्षण गर्न खोजेको, कलेजले पैसा खुवाएर मिलाउन खोजे लगाएतका आरोप लगाएका छन् । उनीहरुले न्यायका लागि आन्दोलन गर्न परेको खबर एजुकेशनलाई बताए । पीडित विद्यार्थीले अभिभावकलाई भनेपछि मंगलबार घटना बाहिरिएको हो।