काठमाडौं/१७ असोज-नेपाल विद्यालय कर्मचारी परिषद्ले कुनै पनि कानुनी व्यावस्था नगरी उमेर हद तोकिएकोमा ध्यानाकर्षण भएको जानकारी गराएको छ ।
प्रेस विज्ञप्ति जारी गर्दे सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको उमेर हद शिक्षक सरह ६० वर्ष हुने भनि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रकाशित गरेको सूचना सम्बन्धमा ध्यानाकर्षण भएको जानकारी गराएको हो ।
परिषद्ले ६० वर्ष पुगेका विद्यालय कर्मचारीहरुलाई कुनै पनि कार्यविधि निर्माण नगरी अवकाश नगर्न नगराउन भनी च.न.१८९ /२०६७ /२०६८ मिति २०६७ /१०/ २० मा तत्कालिन शिक्षा विभागबाट निर्देशन जारी भएको तर हालसम्म नेपाल सरकारको तर्फबाट सो सम्बन्धी कुनै कानुनी व्यावस्था नगरी उमेर हद तोकिएको भन्दै विद्यालय कर्मचारीहरुलाई प्रचलित कानुन बमोजिमको सेवा सुविधाको व्यावस्था गरी अवकाश दिन विज्ञप्ति मार्फत माग गरेको छ ।
“चाडपर्वको वेला यस्तो पत्रले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरु विचलित हुने देखिन्छ । विद्यालय कर्मचारीहरु आन्दोलित भई वार्ता सम्वादबाट समस्या समाधान होस भनि नेपाल विद्यालय कर्मचारी परिषद् सम्बन्धित निकायसँग अनुरोध गर्दछ” विज्ञप्तिमा उल्लेख छ ।
साथै समस्या समाधान नभएको खण्डमा विद्यालय बन्द गर्ने सम्मका आन्दोलन गर्न वाध्य हुने चेतावनी दिएको छ ।



