इक्यानको पहलमा श्रीलंकाले आईटी पढ्ने ८ नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाडौं /२२ असार- श्रीलंकन टेक्नोलोजिकल क्याम्पस (एसएलटीसी)ले ८ जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को पहलमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने भएको हो ।


क्याम्पसले स्नातक तहको अध्ययनका लागि आईटी र कम्प्युटिङ डिग्री अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि क्लाउड कम्प्युटिङ, साइबर सेक्युरिटी, डाटा साइन्स, सफ्टवेयर इञ्जिनियरिङ जस्ता विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति दिन लागेको हो ।


छात्रवृत्तिमा आवेदन दिनका लागि विषयगत विवरण, निवेदनका साथै थप जानकारीका लागि नेपाल स्थित श्रीलंकन दूताबासको शाखा वा इक्यानको सचिवालयमा पनि सम्पर्क गर्न सकिने इक्यानले जानकारी दिएको छ । साथै विद्यार्थीले दुतावासको वेवसाइटमा गएर वा https://sltc.ac.lk/study/application/apply-now मार्फत् सोझै आवेदन दिन सक्नेछन् ।


त्यसैगरी यस अघि ३० जुन २०२१ सम्म छात्रवृत्तिका लागि आवेदन दिन पाइने समय सिमा तोकिए पनि इक्यानको पहलमा ८ दिन समय थप गरी ८ जुलाई २०२१ सम्म आवेदन दिन सकिने भएको छ । छात्रवृत्तिका लागि आवेदन दिन चाहने इच्छुक नेपाली विद्यार्थीहरुलाई थप गरिएको समय सीमाभित्र आवेदन दिन सक्ने इक्यानले जानकारी दिएको छ ।


इक्यानले विगत २४ वर्षदेखि निरन्तर रुपमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरुका लागि इक्यानमा आवद्ध शैक्षिक परामर्श केन्द्रमार्फत् परामर्श र सहजीकरण गर्दै आइरहेको छ ।


यसरी परामर्श, सहजिकरण, समन्वय, र सहयोग गर्दै गर्दा विगतदेखि नै नेपाल लगायत विदेश स्थित कलेज, विश्वविद्यालय लगायत अन्य दुतावास मार्फत जेहन्दार , दुरदराजका र अति विपन्न विद्यार्थीलाई उत्कृष्ट कलेज, विश्वविद्यालयमा छात्रवृत्तिका लागि पहल गर्दै आएको छ ।