काठमाडौं /२९ जेठ- राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) मूल्यांकनको लागि यो वर्ष अघिल्लो वर्ष भन्दा फरक कार्यविधि बनाउन लागिएको जनाएको छ ।
कार्यविधिको ड्राफ्ट तयार भइरहेको र यो महिनाभित्र कार्यविधिको काम सकेर विद्यायलाई मूल्यांकन गर्न निर्देशन दिने तयारीमा बोर्ड रहेको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताउनु भयो ।
जेठ १३ गते देखि एसईई परीक्षा सञ्चालन गर्ने तयारी गरिएपनि कोभिड -१९ महामारीको दोस्रो लहर फैलिएपछि परीक्षा स्थगित भएको थियो । तत्काल भौतिक उपस्थितिमा परक्षिा सचालन गर्ने अवस्था नरहे पछि आन्तरिक मूल्यांकन विधि अनुसार गराउने शिक्षा मन्त्रालयको प्रस्तावलाई मन्त्रीपरिषदले स्वीकृत गरेपछि बोर्डले मूल्यांकन कार्यविधि तयार गर्न लागेको हो ।
गत वर्ष बोर्डले एसईईको लागि “नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७”जारी गर्दे विद्यालयको प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्यांकन समिति रहने गठन गरी विद्यार्थीको मूल्यांकन गर्ने व्यावस्था गरेको थियो ।
समितिले पहिलो त्रैमासिक अवधिको मूल्यांकन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्यांकन ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्यसम्ममा निर्धारित सबै विषयवस्तु मूल्यांकन गरी परीक्षाफल प्रकाशित गरेको थियो ।
तर बोर्डले निर्देशन दिए जस्तो गरी विद्यालयले विद्यार्थीका मूल्यांकन नगरे पछि यस वर्षको मूल्यांकन विधि गत वर्षकोभन्दा केहि फरक गर्न लागेको अध्यक्ष पौडेलले बताउनु भयो ।



