काठमाडौं /१५ जेठ -आज गणतन्त्र दिवस अर्थात जेठ १५ गते । आज देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदैछ । नेपालमा गणतन्त्र घोषणा भएको आज देखि १३ वर्ष पुरा भएर १४ औं वर्षमा प्रवेश गरेको छ ।
आजकै दिन देखि १० वर्षे सशस्त्र ‘जनयुद्ध’ र १९ दिने जनआन्दोलको बलमा स्थापित जहानियाँ राजतन्त्र अन्त्य गरी मुलुक गणतन्त्रमय बनेको थियो । त्यसकारण आज राजतन्त्रात्मक मुलुकले युगान्तकारी फड्को मारेको दिन हो, जेठ १५ । अर्थात् नागरिकका जनप्रतिनिधिहरूले सार्वभौम शक्ति प्रयोग गरेको दिन । राजतन्त्रलाई संसदीय मतदान प्रक्रियाद्वारा शान्तिपूर्ण रूपमा बिदाई गर्न सफल भएको दिन ।
जेठ १५ गतेको यसै एतिहासिक दिनको सम्मान स्वरूप सरकारले आज सार्वजनिक विदा दिएर यसलाई सम्मान, गौरव र लोकतान्त्रिक गणतान्त्रिक मुलुकको उपलब्धिलाई उत्सवको रूपमा सारा नेपालीले मनाइन्छ ।
गणतन्त्र दिवसलाई जनता सार्वभौम भएको सुखद र उल्लासमय दिनका रूपमा मनाइन्छ । महान सहिदहरूलाई जसले नेपालमा गणतन्त्र स्थापनार्थ आफ्नो प्राणको आहूती दिएका छन् उनिहरुको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गरीन्छ ।



